रुपन्देही ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रलाई पहिलो चरणमा एक चौथाइ क्षेत्रफल घटाएर अघि बढाउन थालिएको छ । ९ वर्षअघि बनाउने घोषणा गरेर शिलान्यास गरेको ४ वर्षसम्म यो परियोजना अहिलेसम्म अलपत्र छ ।
हचुवाको भरमा नापजाँच गरी स्थानीयको समेत जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा पास गरेर निर्माण प्रक्रिया अघि बढाइएपछि स्थानीय र सरोकारवाला पक्षबीच ठूलो विवाद भएको थियो ।
पहिलो चरणमा कम विवाद रहेको क्षेत्र बी ब्लकको २३८ विगाहमा काम अघि बढाउन सम्बद्ध पक्ष तयार भए पनि अझै यो क्षेत्रमा करिब २० विगाह जग्गा अझै पनि स्थानीयले दाबी गरिरहेका छन् । तर स्थानीय सरकार, यहाँका सबै राजनीतिक दल, भूमि आयोग स्थानीयलाई वैकल्पिक व्यवस्था गर्न सहमत भएकाले यसले निकास पाउने सम्भावना बलियो बनेको हो ।
पछिल्लो समय औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले स्थानीयले दाबी गरेको जग्गा दिएर पनि २३८ विगाहमा तत्काल काम थाल्न सकिने गरी सरोकारवाला पक्षलाई सहमत गराएको छ । तर मैदानमा यसको अन्तिम नाप जाँचका लागि अझै केही समय लाग्ने लिमिटेडका केन्द्रीय अध्यक्ष बाबुराम पन्तले जनाएका छन् । उनी यसका लागि केही समययता निरन्तर सरोकारवाला पक्षसँग बसिरहेका छन् ।
९ वर्षअघि यहाँको ८१३ विगाह जग्गा अनुमानको भरमा नाप जाँच गरी लिमिटेडको नाममा पास भएको थियो । तर यो क्षेत्रफलमा बीच बीचमा लामो समय स्थानीयले भोग चलन गरेको क्षेत्र र केही स्थानीयको पुर्जा नै भएको जग्गा परेकाले अहिले त्यसको करिब एक चौथाइ अर्थात् २३८ विगाहमा काम अघि बढाउन थालिएको हो ।