गृहपृष्ठ Featured दाङमा व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप, प्रधानाध्यापकमाथि कुटपिट

दाङमा व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप, प्रधानाध्यापकमाथि कुटपिट

प्रकाशित मिति:

दाङ — घोराही उपमहानगरपालिका–१४, नयाँ बजारस्थित शुभप्रभात माविमा विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा प्रधानाध्यापक रुद्र बुढामाथि पनि कुटपिट भएको छ ।

 

विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रोपटक बोलाइएको भेलामा विवाद भएपछि झडपको स्थिति सिर्जना भएको हो । गणपुरक संख्या नपुगेका कारण व्यवस्थापन समिति गठनको माइन्यूट गर्न नमान्दा आफूमाथि कुटपिट भएको बुढाले बताए ।

पहिलो भेलामा १ सय २८ र दोस्रो भेलामा ४८ अभिभावक उपस्थित भए पनि गणपुरक संख्या १ सय ८६ नपुगेपछि बुधबार तेस्रोपटक भेला बोलाइएको उनले बताए ।

बुधबारको भेलामा पनि १ सय २३ जना मात्रै अभिभावक भेला भएको र ५१ प्रतिशत गणपुरक संख्या नपुगेको बुढाले बताए । ‘गणपुरक संख्या नपुगेको अवस्थामा व्यवस्थापन समिति गठन गर्न नसकिने बताएपछि ममाथि कुटपिट भयो,’ उनले भने, ‘अब चौथो पटक भेला गरौंभन्दा अहिले नै गठन गर्नुपर्छ भन्ने दवाव दिँदै मलाई कुटियो ।’

विद्यालयमा व्यवस्थापन समिति गठनमा सधैं विवाद हुने गरेको र यसअघिको व्यवस्थापन समिति पनि पाँचौंपटकको भेलाबाट मात्रै गठन गरिएको बुढाले बताए ।

कुटपिटमा १४ नं. वडा अध्यक्ष भानसीं बुढा र उनका सहयोगीहरु संलग्न रहेको बुढाले आरोप लगाएका छन् ।

वडा अध्यक्ष बुढाले भने आफू व्यवस्थापन समिति गठनको भेलामा निमन्त्रणा गरेका कारण गएको तर कुनै पनि अराजक गतिविधिमा संलग्न नभएको बताएका छन् । भेलामा अभिभावकहरुबीच विवाद भइ झडप भएको तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको उनको भनाइ छ । आफूलाई गलत आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताए ।

सम्बन्धित् समाचार