क्वेटा — पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीहरूले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय यात्रुलाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोही मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ ।
पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही सुरू हुनुअगाडि नै रेलमा सवार २१ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो । तर पाकिस्ती सञ्चार माध्यहरूले कम्तीमा ३० सुरक्षाकर्मी मारिएको उल्लेख गरेका छ्न् ।
उद्धारका क्रममा घाइते भएका ३७ यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । पाकिस्तानी रेल अधिकारीहरुका अनुसार ९ वटा डिब्बा रहेको रेलमा ४ सय ४० यात्रु थिए । पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ ।
विद्रोही समूह बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) ले मंगलबार क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर केयौं यात्रुलाई बन्धक बनाएका थिए । सुरक्षाकर्मीले अझै कैयौं यात्रु बीएलएको नियन्त्रणमा रहेका जनाएका छन् । क्वेटास्थित रेल अधिकारीका अनुसार मंगलवार ११ बालबालिका र २६ महिलासहित ८० यात्रु रेलबाट ओर्लिएर नजिकै रहेको अर्को स्टेशन पुगेका थिए । उक्त समूहमा रहेका बलोचिस्तानका बासिन्दाहरू घर फर्किएका थिए ।
आक्रमण गरेलगत्तै बीएलएले रेलमा रहेका ४ सय २५ यात्रुमध्ये २ सय १४ जनालाई बन्धक बनाएको बताएको थियो । एक सैनिक अधिकारीका अनुसार रेलमा क्वेटाबाट चढेका सयभन्दा बढी सेनाका कर्मचारीहरूले यात्रा गरिरहेका थिए ।