गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगा-७ बाट कपिलवस्तुमा जग्गा नाँप जाँचको काम सुरु

बाणगंगा-७ बाट कपिलवस्तुमा जग्गा नाँप जाँचको काम सुरु

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नाँप जाँच कार्य सुरु भएको छ ।

भूमि समस्या समाधान आयोग कपिलवस्तुले आईतबार बाणगंगा नगरपालिका- ७ बाट कपिलवस्तुमा जग्गा नाँप जाँचको काम सुरु गरेको हो ।

लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले जग्गा नाँप जाँच गर्ने मेसीनको स्वीच अन गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् । सो क्रममा उनले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको जिकिर गरेका थिए । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई भूमिपति सरकार र आयोग लागेको भन्दै उनले खुशी व्यक्त गरे ।

भूमि समस्या समाधान आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेलले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले पाउने जग्गाको सीमा र मापदण्डबारे स्पष्ट पारेका थिए । जनप्रतिनिधिले लालपुुर्जाको लागि सिफारीस नदिएमा आयोगलाई तत्काल सुचना दिन उनले अपिल समेत गरे । राजनीतिक प्रतिशोध राखेर भोट नदिएकै कारण वास्तविक भूमिहिनलाई जग्गा प्राप्त गर्न बन्चित गर्न नहुने उनको भनाई छ ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई लालपुर्जा वितरण गर्न नगर आतुर रहेको बताए । जिल्लामै पहिलो पटक बाणगंगाबाट जग्गा नाँप जाँच कार्यको शुभारम्भ गरेकोमा आयोगलाई धन्यवाद दिंदै नगरप्रमुख अर्यालले भूमि सम्बन्धि समस्या सधैका लागि अन्त्य हुन आवश्यक रहेको बताए ।

सम्बन्धित् समाचार