सागर वि.क., वैखरी अनलाईन ।
बाणगंगा नगरपालिका वडा नं.२ पिपरामा पोषणमैत्री वडा निर्माणको लागि वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार पोषण तथा खाद्य सुरक्षा सहजीकरण समिति र सरोकारवालाहरूबीच उक्त कार्यक्रम गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले गत बर्ष वडा नं.५ र ८ लाई पोषणमैत्री वडा घोषण गरिएको बताउँदै यस बर्ष वडा नं.२, ४ र ९ लाई घोषणा गर्ने तयारी रहेको बताए ।
उनले आगामी आर्थिक बर्षभित्र बाणगंगाका ११ वटै वडालाई पोषणमैत्री वडा घोषणा गर्ने नगरको योजना रहेको सुनाए । उनले वडालाई पोषणमैत्री घोषणा मात्र नगरेर त्यसको दिगोपनालाई समेत सबैले ख्याल गर्न आवश्यक रहेको बताए ।
उनले पोषण मैत्री वडा घोषणा गर्नका लागि आवश्यक स्रोत साधन नगरले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले हरेक घरपरिवारमा पोषण सम्बन्धि ज्ञान वृद्धि गर्न आवश्यक रहेको बताए । उनले विद्यालयमा बालबालिकालाई पोषणयुक्त खाजाका लागि प्रदान गरिने रकमको सही कार्यान्वयन तथा प्रभावकारीताका बारेमा अनुगमन गरिने बताए ।
बाणगंगा नगरपालिकाका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले विकास निर्माण र नागरिक सचेतताका दृष्टिकोणले वडा नं.२ अग्रस्थानमा रहेको दाबी गरे । यस्तो परिवेशमा वडा नं.२ लाई पोषणमैत्री वडा घोषणा गर्न सबै सरोकारवालाहरुबाट सकारात्मक सहयोग प्राप्त हुने उनको विश्वास छ । उनले पिपरा अस्पतालमा धेरै मात्रामा सेवा प्रवाहको काम भएपनि त्यसको सम्पूर्ण डाटाहरु नराखिएको गुनासो छ ।
उनले अस्पतालमा चुस्तदुरुस्त रुपमा डाटाहरु राख्न निर्देशन समेत दिए । वडाध्यक्ष पौडेलले यसै आर्थिक वर्षमा वडा नम्बर २ लाई पोषणमैत्री र पूर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने जिकिर गरे । त्यसका लागि वडाभित्रका तीन वटै खानेपानी समिति, टोल विकास संस्थाको अगुवाइमा घरधुरी सर्वेक्षण गरिसकिएको उनले बताए ।
उनले सबै वडावासीलाई आफ्नो घरआँगन र घर अगाडिको सडक सफा राख्न अनुरोध गर्दै आफुहरुको अनुरोधलाई बेवास्ता गरे वडा तथा नगरपालिका कारबाहीमा जाने बाध्यात्मक अवस्था हुने बताए ।
पोषणमैत्री वडा घोषण गर्नका लागि ४९ वटा मापदण्डहरु पुरा गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । उनले बाणगंगामा स्वास्थ्य क्षेत्रका गतिविधिलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा संचालन गर्दै आएको उनले बताए ।