गृहपृष्ठ कपिलवस्तु बिशेष नेपाल फार्मेसी संघ कपिलवस्तुको अध्यक्षमा डा. घिमिरे निर्वाचित : को हुन् घिमिरे ?

नेपाल फार्मेसी संघ कपिलवस्तुको अध्यक्षमा डा. घिमिरे निर्वाचित : को हुन् घिमिरे ?

सागर वि.क., वैखरी अनलाईन ।

नेपाल फार्मेसी संघ कपिलवस्तुको अध्यक्षमा डा.विक्रम घिमिरे निर्वाचित भएका छन् ।  संघको शुक्रबार सम्पन्न दोस्रो बार्षिक साधारण सभा तथा पहिलो अधिवेशनबाट घिमिरे सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा विशाल गुप्ता, निरज कुमार क्षेत्री, महासचिवमा अम्बिका केसी, सचिवमा विरेन्द्र गुप्ता, विष्णु थापा, कोषाध्यक्षमा बाबुराम अधिकारी, सहकोषाध्यक्षमा सरिता बन्जाडे निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा अंजली काफ्ले घिमिरे, अभिषेक दुवेदी, विवस बन्जाडे, चन्द्रकला रोका, लक्ष्मण रिमाल, शंकर मरासिनी र ईस्तीकार खाँन निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले फार्मेसीष्टहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सरोकारवालाहरुसंग सहकार्य गर्दै फार्मेसिष्टहरुको क्षमता अभिवृद्धिसंगै विभिन्न शिविरहरु संचालन गर्ने बताएका छन् ।

सर्वसम्मत निर्वाचित डा.घिमिरे को हुन् ?

नेपाल फार्मेसी संघ कपिलवस्तुको अध्यक्षमा सर्वसम्मत निर्वाचित डा.विक्रम घिमिरे बाणगंगा नगरपालिका वडा नं.४ निवासी हुन् ।

३२ बर्षीय घिमिरेले सन् २०११ मा चितवन मेडिकल कलेजबाट डिप्लोमा ईन फार्मेसी गरे । त्यसपश्चात उच्च शिक्षाका लागि घिमिरे कर्नाटाका एजुकेशन ट्रस्ट बैंग्लोर भारत पुगे । त्यहाँबाट उनले ६ बर्षे डाक्टर अफ फार्मेसी (फार्म. डि) सन् २०१७ मा सके । उक्त उपाधि हासिल गरेपछि उनले १ बर्ष नारायना हेल्थ रिसर्च बैंग्लोरमा एशोसियट साईन्टीस्टको रुपमा काम गरे ।

भारतमा हासिल गरेको उक्त ज्ञान, सिपको स्वदेशमै उपयोग गरि देशमै केही गर्नुपर्छ भन्ने हुटहुटीले घिमिरे नेपाल फर्किए । अहिले घिमिरेले बाणगंगा नगरपालिका ५ कोपवामा प्रेरा पोलिक्लिनिक र पिपरामा पुर्णिमा फार्मेसी संचालन गर्दै आएका छन् । घिमिरेले कपिलवस्तु टेक्निकल ईन्स्टिच्युट पिपरामा फार्माकोलोजी र एनाटोमी विषय शिक्षण समेत गराउँदै आएका छन् ।

 

यसैबीच उक्त कार्यक्रमको खुलासत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले फार्मेसी स्वास्थ्य क्षेत्रको एक मेरुदण्ड भएको बताए । उनले फार्मेसीहरुले २४ घण्टा नै उपभोक्ताहरुलाई सेवा दिदैं आएको बताउँदै नेपाल सरकारको तोकेबमोजिमको मापदण्ड पुरा गरि संचालन गर्नुपर्नेमा जोड दिए ।

यस्तै बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले नगरमा अनुगमनका क्रममा केही फार्मेसीहरु विना दर्ता संचालनमा रहेको पाईने गरेको बताईन् । उनले अनुगमनकै क्रममा म्याद नाघेका औषधी समेत आफुहरुले जफत गर्ने गरेको बताउँदै त्यसतर्फ फार्मेसीहरुलाई ध्यानदिन आग्रह गरिन् ।

उक्त कार्यक्रम बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा अवस्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार