गृहपृष्ठ Featured चेन्नईको कप्तानीमा फर्किए धोनी

चेन्नईको कप्तानीमा फर्किए धोनी

प्रकाशित मिति:

चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनीले फेरि टोलीको कप्तानी सम्हाल्ने भएका छन्।

कप्तान ऋतुराज गायकवाड चोटका कारण आइपीएलको १८औं संस्करणबाट बाहिरिएसँगै धोनी फेरि टोलीको कप्तानीमा फर्किएका हुन्।

गायकवाडको कप्तानीमा चेन्नई कमजोर प्रदर्शन गर्दै आएको थियो। टोली अघिल्लो सिजन प्लेअफमा पुग्न असफल भएको थियो भने यो सिजन सुरुवाती ५ खेलमध्ये ४ मा पराजित भइसकेको छ। हाल चेन्नई अंक तालिकामा १० टोलीमध्ये नवौं स्थानमा छ।

टोलीका मुख्य प्रशिक्षक स्टेफन फ्लेमिङले भने, ‘रिप्लेसमेन्टको कुरा गर्दा हाम्रो टोलीमा धेरै विकल्प छैनन्। अहिलेसम्म हामीले अन्तिम निर्णय गरेका छैनौं। धोनी कप्तानी सम्हाल्न तयार छन्, त्यसैले उनीमाथि नै भरोसा गरिएको हो।’

गुवाहाटीमा राजस्थान रोयल्सविरुद्धको खेलका क्रममा चेन्नईका बलर तुषार देशपाण्डेको बल ऋतुराज गायकवाडको कुहिनोमा लागेको थियो। सो खेलमा गायकवाडले अर्धशतक प्रहार गरेका थिए तर टोली भने हार्न पुगेको थियो। खेलपछि उनले केही दिन अभ्यास गरेका थिएनन् र हाद उनी प्रतियोगिताबाट पूर्णरुपमा बाहिरिएका छन्।

चेन्नई सुपर किंग्सका प्रशिक्षक फ्लेमिङले धोनीको फिटनेसबारे पनि अपडेट दिएका थिए। उनका अनुसार धोनीका घुँडाले पहिलाको जस्तै साथ नदिँदा उनी लगातार १० ओभर दौडेर ब्याटिङ गर्न सक्दैनन्। त्यसैले उनको ब्याटिङ पोजिसन खेलको अवस्थाअनुसार निर्धारण गरिन्छ।

२०२३ सम्म टोलीको कप्तानी सम्हालेका धोनीले त्यसपछि कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका थिए। त्यही सिजनमा धोनीले चेन्नईलाई अन्तिमपटक च्याम्पियन पनि बनाएका थिए।

उनले २ सय २६ खेलमा कप्तानी गर्दै १ सय ३३ जित दिलाएका छन्। उनी आइपीएलमा १ सयभन्दा बढी खेल जिताउने एकमात्र कप्तान हुन्। दोस्रो स्थानमा रहेका रोहित शर्माले १ सय ५८ खेलमा कप्तानी गर्दै ८७ जित निकालेका छन्।

सम्बन्धित् समाचार