सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको छ । सोमबार बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा भएको एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले बाणगंगालाई जिल्लाकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेका हुन् ।

सो क्रममा प्रमुख आचार्यले जिल्लाका अन्य पालिकाको तुलनामा बाणगंगा हरेक क्षेत्रमा अब्बल सावित भएको भन्दै खुशी व्यक्त गरे । उनले नमुना नगरको रुपमा स्थापित भएको बाणगंगासंगै जिल्लाका अन्य पालिकालाई पनि संगसंगै हातेमालो गर्दै अघि बढाउन सकेमात्र समग्र कपिलवस्तुको छवि बद्लिने बताए ।
उनले जिल्लाका अन्य पालिकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक बजेट विनियोजन नगरेको बताए । राज्यले खोपमा ठूलो लगानी गरेको भन्दै प्रमुख आचार्यल् कोरोना महामारीमा खोपको महत्व थप प्रष्ट भएको स्मरण गराए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बाणगंगाबासीलाई गुणस्तरिय स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउने गरि नगरले काम गरिरहेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई नगरले प्राथमिकतामा राख्दै आएको र सोही अनुरुप बजेट विनियोजन गरेर काम भएको बताए । नगरबाट बजेट विनियोजन गरि स्वास्थ्यसंग सम्बन्धित विभिन्न अभियानहरु नगरले संचालन गर्दै आएको उनले बताए ।
उनले आगामी आर्थिक बर्षभित्र बाणगंगालाई पोषणमैत्री र पूर्णसरसफाईयुक्त नगर घोषणा गर्ने तयारी रहेको बताए । सोही अनुसार योजनाबद्ध रुपमा नगर अघि बढेको उनको भनाई छ । उनले बाणगंगामा एक चरणको आधारभूत भौतिक पूर्वाधारहरु निर्माण भईसकेको भन्दै अब नगरको ध्यान सामाजिक क्षेत्रको विकासमा केन्द्रित रहने जिकिर गरे ।
नगर उपप्रमुख रिताकुमारी चौधरीले खोप केन्द्रलाई नगरले बर्षेनी ३० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको बताउँदै उक्त रकमलाई निरन्तरता दिईने बताईन् । उनले सबै सरोकारवालाको साँझा प्रयासले नगरलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्न सफल भएको बताईन् ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले हालै मात्र २ हजार ४२८ जना बालबालिकालाई खोप लगाईएको जानकारी दिदैं कोही बालबालिका नदोहोरिएको र नछुटेको बताए ।
उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ११ वटै वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य, नगरका स्वास्थ्यकर्मीसहितका कर्मचारी, स्वास्थ्य स्वयम्सेवीका लगायतको उल्लेख सहभागिता रहेको थियो ।








