गृहपृष्ठ Featured भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

भारत र पाकिस्तानबिच तनाव चर्किएपछि कञ्चनपुरका सीमावर्ती क्षेत्रमा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ । जम्मु–कस्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि बदलामा भारतले २४ वैशाखमा पाकिस्तानका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र प्रहार गरेपछि तनाव उत्पन्न भएको हो ।

पहलगाम घटनालगत्तै भारतले कञ्चनपुरका सीमा क्षेत्रमा चेकजाँच कडाइ गर्दै आएको थियो । दक्षिण एसिया क्षेत्रीय शक्तिराष्ट्रहरूबिचको युद्धले नेपालमा समेत असर पर्न सक्ने भन्दै सरकारले देशभरका सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

बुधबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा परिषद् बैठकले सीमा क्षेत्रमा सुरक्षा बढाउने निर्णयअनुरूप कञ्चनपुरमा पनि सुरक्षा सतर्कता बढाएको जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले दुई देशबिच देखिएको तनावलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको बताए । उनका अनुसार यसअघि जिल्लामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका युनिटमार्फत चेकजाँच कडाइ पारिएको छ ।

‘हामीले नियमित चेकजाँचका साथै अहिले थप जनशक्तिदेखि मोबाइल गस्ती बढाएका छौँ,’ प्रजिअ ढकालले भने, ‘ब्रह्मदेव, गड्डाचौकी, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास, डोकेबजारसहितका विभिन्न खुला नाकामा नेपालबाट बाहिरिने, भारत जाने दुवैतर्फबाट विवरण संकलनदेखिका सुरक्षाका कामकाज अघि बढाएका छौँ ।’

सीमावर्ती क्षेत्रमा गस्तीका लागि ४१ मोबाइल टोली बनाएर छोटो तथा लामो गस्तीसमेत बढाएको ढकालले बताए । ‘सीमा क्षेत्रमा सवारीसाधन, यात्रुदेखि सबैलाई चेकजाँच गर्दै आवागमनसमेत हामीले सहज बनाएका छौँ,’ उनले भने, ‘कञ्चनपुरको सम्पूर्ण सीमा क्षेत्रमा उच्च सुरक्षाका कार्यक्रम अघि बढाउँदै कुनै पनि अवाञ्छित एवं शंकास्पद व्यक्ति नेपाल प्रवेश गर्न रोक्छौँ, अहिलेसम्म त्यस्तो दुःखद विषय केही छैन ।’ कञ्चनपुर भारतसँग झन्डै १३० किलोमिटर सीमा जोडिएको छ ।

सम्बन्धित् समाचार