नेपाली राष्ट्रिय फुटबल टिमले ३७ वर्षपछि हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ। यसअघि सन् १९८८ मा एएफसी एसियन कप छनोटमा हङकङसँग खेलेको नेपाल त्यसपछि आज प्रतिस्पर्धा गर्न लागेको हो।
खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ ५:४५ मा सुरु हुने छ। फिफा वरियतामा हङकङ नेपालभन्दा माथि रहेको छ। हङकङ १५३ औं स्थानमा रहँदा नेपाल भने १७५औं स्थानमा रहेको छ। नेपाल र हङकङबिच यसअघि १९८८ मा दशरथ रंगशामा भएको एसियन कप छनोटमा गोलरहित बराबरी भएको थियो।
आगामी जुन १० मा सुरु हुन लागेको एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। छनोटको समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग अवे खेल खेल्दैछ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बुधबार भएको प्रि म्याच कन्फ्रेन्समा हङकङ लाई नजिकबाट नियालेको बताए। उनले हङकङ बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हङकङलाई राम्ररी अध्ययन गरेको बताए।
रातिको खेलमा हङकङको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे। उनले भने, ‘हामीले एशियन कप छनोटमा लाओसविरुद्धको खेल अघि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न पाउनुलाई सकरात्मक मानेका छौं। यसले टिममा उर्जा दिएको छ। हामी यो खेललाई आफ्नो कमजोरीलाई सच्याउने र सुधारगर्ने अवसरका रुपमा लिने छौं।’
हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रस्ट्याए। हङकङसंगको उच्चस्तर खेल हुने विश्वास ब्यक्त गरे।
त्यस्तै टोलीका कप्तान किरण चेम्जोङले हङकङसंगको मैत्रीपूर्ण खेल केवल खेल मात्र नहुने भन्दै यो लाओसविरुद्धको उत्कृष्ट अभ्यास समेत भएको बताए। उनले भने, ‘हामी विपक्षीलाई सम्मान गर्छौ। तर हामी खेलमा उत्कृष्ट प्रदर्शनका लागि तयार छौं।’
यसअघि हङकङले यो मैदानमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडसँग अभ्यास खेल खेलेको थियो। उक्त खेलमा घरेलु टोली ३-१ गोल अन्तरले पराजित भएको थियो।








