गृहपृष्ठ Featured आज ‘एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ घोषणा गरिदैं

आज ‘एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ घोषणा गरिदैं

प्रकाशित मिति:

वैखरी अनलाईन, कपिलवस्तु ।

आज शुक्रबार एक भव्य कार्यक्रमकाबीच एग्रीवस्तु कृषि तारा कपिलवस्तु–२०८२ घोषणा गरिदैं छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० मा अवस्थित एग्रीवस्तु कोल्ड स्टोरेजले आज ‘एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२’ घोषणा गर्न लागेको हो । कपिलवस्तुको ईतिहासमा एग्रीवस्तुले पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेको हो ।

एग्रीवस्तु कोल्डस्टोरेज प्रालिका प्रबन्ध निर्देशक आशिष शर्माले कृषकलाई पुरस्कार र कृषि पेशालाई सम्मान गर्ने उद्देश्य स्वरुप यो भव्य कार्यक्रम आज साँझ हुन लागेको बताउनुभयो । उहाँले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदैं सम्पूर्ण जिल्लावासीलाई कार्यक्रममा सहभागीताका लागि अपिल समेत गर्नुभएको छ । उहाँले आज उक्त कार्यक्रममा हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ को विशेष प्रस्तुतिसहित विविध साँस्कृतिक कार्यक्रम हुने जानकारी दिनुभयो ।

यस कार्यक्रमले प्रतिस्पर्धी कृषकलाई सम्मान र उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार प्रदान गर्दै पेशामा लाग्न थप प्रेरित गर्ने उहाँको भनाई छ । कृषि नै नेपाली अर्थतन्त्रको मेरुदण्ड, आशा, भरोसा र भविष्य भएको भन्दै उहाँले भन्नुभयो, ‘कृषक यसका वास्तविक साधक हुन्, भन्ने मूल मन्त्रका साथ कपिलवस्तुका कृषकहरुलाई सम्मान गर्ने उद्देश्यका साथ आज एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ घोषणा गर्दैछौं ।’

अहिले पनि कृषि पेसामा लागेर केही पनि हुँदैन भन्ने भाष्य निर्माण भएको बताउँदै उहाँले यो भाष्यलाई चिर्नका लागि यो कार्यक्रम महत्वपूर्ण सावित हुने र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभया ।

एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को मुख्य प्रायोजकको रुपमा दीपकुमार उपाध्याय फाउन्डेसन रहेको छ ।

आज ३ वटा विधाहरुमा ५ जना कृषकलाई सम्मान गरिने छ । कृषि तारा (प्रथम, द्वितीय, तृतीय), विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी र उत्कृष्ट महिला कृषकलाई सम्मान गरिने छ ।

कृषि तारातर्फ प्रथम हुनेले १ लाख, द्धितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार प्राप्त गर्ने छन् भने विदेशबाट फर्किएका उत्कृष्ट कृषि उद्यमी र उत्कृष्ट महिला कृषकले पुरस्कार स्वरुप ५०/५० हजार पाउने छन् ।

यसैबीच वैशाख मसान्तसम्म आवेदनको म्याद तोकिएको यस प्रतियोगितामा जिल्लाभरबाट ९० वटा आवेदन फारम प्राप्त भएको जनाईएको छ ।

मौरीविद् अनिरुद्धनाथ शुक्लाको संयोजकत्वमा गठित ५ सदस्यीय मूल्याङ्कन समितिले प्राप्त आवेदनहरूको अध्ययन गरी क्षेत्रफल, उत्पादन, फिल्ड अनुगमन लगायताका आधारमा सम्मानित हुने ५ जना उत्कृष्ट कृषक र ५ जना सान्तवना पुरस्कार प्राप्त गर्नेहरुको छनोट गर्नेछ ।

मूल्याङ्कन समितिमा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भाष्कर पौडेल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख राजेश ओझा, कृषि विद् खुर्सेद अहमद खाँ र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका सहसचिव कृष्ण प्रसाद पौडेल सदस्य रहेका छन् ।

सम्बन्धित् समाचार