–बिषाल अधिकारी
मलाई के लाग्छ भने — आज नेपालमा ‘वैकल्पिक राजनीति’ भन्ने शब्द एक प्रकारको भ्रमपूर्ण फेसन जस्तै बनिसकेको छ। न नारामा गहिराइ छ, न व्यवहारमा नैतिकता। उम्मेदवारहरू फेरिए, तर प्रवृत्ति उस्तै छ; भाषणको शैली बद्लियो, तर जनतासँगको दूरी अझै घटेको छैन।
यस्ता वैकल्पिक भनिने अभ्यासहरू विचारको परिवर्तनभन्दा बढी, अनुहारको अदलबदल मात्र सावित भएका छन्। हामीले कल्पना गरेको वैकल्पिक शक्ति विचारमा गहिरो, नीति निर्माणमा सक्षम, र सत्ता होइन संस्था र प्रणाली निर्माणतर्फ केन्द्रित हुनुपर्ने थियो।
तर आजको यथार्थ हेर्दा त्यो सपना फेसबुक लाइभ, टेलिभिजनको चर्को बहस र TikTok रिल्स मा हराएको देखिन्छ। हामी अझै पनि व्यक्ति बदल्नेमै व्यस्त छौं, तर प्रणालीलाई जस्ताको तस्तै राखेर देश बदलिन्छ भन्ने सोच आफैंमा ठूलो भ्रम हो। र यति बेला मेरो ध्यान गएको छ — छिमेकी भारतको बिहार राज्यतर्फ, जहाँ एकजना पूर्व चुनावी रणनीतिकार प्रशान्त किशोर ‘जन सुराज’ नामक अभियानमार्फत वास्तविक वैकल्पिक अभ्यास गर्दै हुनुहुन्छ।
उहाँले मोदी, राहुल, ममता, केजरीवाल जस्ता नेताहरूका लागि चुनावी रणनीति तयार पार्नुभएको थियो। तर आज, प्रचारको दुनियाँबाट बाहिर निस्किएर उहाँ गाउँ–गाउँको धुलो समाउँदै, पीडित जनताको आवाज सुन्दै नीतिनिर्माणको नयाँ मोडेलको अभ्यास गरिरहनुभएको छ। ‘जन सुराज’ को मूल दर्शन तीन आधारमा आधारित छ — गान्धीको नैतिक राजनीति, आम्बेडकरको समावेशी दर्शन, र आधुनिक प्रशासनिक दक्षता। प्रशान्त किशोरले भन्छन्: “बदलाव चुनाव जितेर होइन, समाज बुझेपछि आउँछ।” उहाँको अभ्यास हेर्दा लाग्छ — राजनीति प्रचार होइन, सेवा हो; चिच्याउने होइन, सुनुवाइ गर्ने माध्यम हो।
अहिले म क्यानडामा अध्ययनरत छु, तर मेरो दृष्टि र सोच अझै पनि नेपालको गहिरो राजनीतिक रुपान्तरणतर्फ केन्द्रित छ। र मलाई लाग्छ — यदि हामी साँच्चै वैकल्पिक राजनीति चाहन्छौं भने, हामीले व्यक्ति होइन, विचार बदल्नुपर्छ। शब्द होइन, प्रणाली बदल्नुपर्छ।