गृहपृष्ठ Featured कपिलवस्तु- १ : चुनावी गतिविधि तीब्र बनाउँदै रास्वपा उम्मेदवार आचार्य

कपिलवस्तु- १ : चुनावी गतिविधि तीब्र बनाउँदै रास्वपा उम्मेदवार आचार्य

कपिलवस्तु ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फका उम्मेदवार मोहनलाल आचार्यले चुनावी गतिविधिलाई तीब्र बनाएका छन्।

उम्मेदवार आचार्यले ‘जनतासँग उम्मेदवार’ कार्यक्रमअन्तर्गत घरदैलो अभियान सञ्चालन गर्दै प्रत्यक्ष रूपमा मतदातासँग संवाद, भेटघाट तथा सुझाव संकलन गर्दै आएका छन्।

घरदैलो अभियानका क्रममा मतदातासँग संवाद गर्दै आचार्यले परिवर्तन भाषणमा मात्र नभई व्यवहारमा देखिनुपर्ने मान्यताका साथ आफू राजनीतिमा आएको उल्लेख गरे। उनले आजको आवश्यकता हरेक नागरिकको सक्रिय सहभागितामार्फत समावेशी र उत्तरदायी राजनीति निर्माण गर्नु रहेको बताए।

उनले भ्रष्टाचार, कुशासन र कुरीतिरहित पारदर्शी, न्यायपूर्ण तथा समृद्ध नेपाल निर्माण सबैको साझा सपना बन्नुपर्नेमा जोड दिए। साथै, उक्त लक्ष्य हासिल गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने भन्दै मतदातासँग निरन्तर अपिल गर्दै आएका छन्।

घरदैलोका क्रममा “अबको भोट घण्टीलाई” भन्ने नारासहित मतदाता उत्साहित भएको जनाइएको छ।

संवादका क्रममा मतदाताहरूले परिवर्तनप्रतिको आशा व्यक्त गर्दै रास्वपाप्रति सकारात्मक धारणा राखेको आचार्यको दाबी छ।

पेशाले संविधान विज्ञ तथा अधिवक्ता रहेका आचार्यले लामो समयदेखि सुशासन, पारदर्शिता, नागरिक अधिकार, संवैधानिकता र जवाफदेहिता का विषयमा सक्रिय रूपमा आवाज उठाउँदै आएका छन्। अदालतमा सार्वजनिक महत्वका विषयमा बहस गर्दै आएका उनी कानुनी क्षेत्रसँगै सामाजिक तथा नागरिक अभियानहरूमा पनि निरन्तर सक्रिय रहँदै आएका छन्।

रास्वपाबाट उम्मेदवार बनेपछि उनले “राजनीतिमा नयाँ संस्कार, जवाफदेही नेतृत्व र नागरिक केन्द्रित शासन प्रणाली” लाई आफ्नो प्रमुख एजेन्डा बनाएको बताएका छन्।

हाल उनी घरदैलो अभियानमार्फत जनताको समस्या, अपेक्षा र सुझाव बुझ्दै चुनावी माहोल थप सशक्त बनाउँदै अघि बढिरहेका छन्।

सम्बन्धित् समाचार