अशोक पौडेल , बुद्धभूमी ।
बुद्धभूमी नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम आज नगर सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले समग्र नगरको दिगो विकासका लागि सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको स्पष्ट पारे।
समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख श्रेष्ठले भने, “नगरको समृद्धि हाम्रो साझा सपना हो, यो सपना पूरा गर्न सबै राजनीतिक दलका नेतृत्व, वडाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा आम नगरवासी एकजुट भई अघि बढ्नु आवश्यक छ।”
गत आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकाले गरेका गतिविधिहरू, सेवा प्रवाह, योजना कार्यान्वयन तथा प्रगतिहरूको समग्र समीक्षा कार्यक्रममा गरिएको थियो।
समिक्षा कार्यक्रममा पालिकाभित्र सक्रिय रहेका विभिन्न गैरसरकारी संस्था, वडा कार्यालयहरू तथा पालिकाका शाखाहरूबाट सम्पादन गरिएका कार्यहरूको प्रस्तुति सम्बन्धित प्रतिनिधिहरू — गैरसरकारी संस्थाका प्रतिनिधि, वडा सचिवहरू र शाखा प्रमुखहरूले गरेका थिए।
कार्यक्रम बुद्धभूमी नगर प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता तथा योजना शाखा प्रमुख नविन खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, नगरका कर्मचारी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले पालिकाको पारदर्शिता, जवाफदेहिता तथा आगामी योजनाहरूको आधार तय गर्ने विश्वास लिइएको छ।








