क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्गले टेस्ट क्रिकेटले देशहरूलाई टाट पल्टाउन सक्ने चेतावनी दिएका छन् । परम्परागत टेस्ट क्यालेन्डरले केही देशहरूलाई टाट पल्टाउन सक्ने चेतावनी दिँदै उनले तालिकालाई संशोधन गर्न आह्वान गरेका बीबीसीले जनाएको छ ।
ग्रीनबर्गले टेस्ट क्रिकेटको भविष्य सुनिश्चित गर्न मात्राभन्दा गुणस्तरलाई प्राथमिकता दिन चाहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भर्खरै टेस्ट ढाँचा र दुई–स्तरीय प्रणाली लागू गर्ने सम्भावनाबारे छलफल गर्न एक कार्यदल गठन गरेको छ ।
क्रिकेट अस्ट्रेलियाका प्रमुख ग्रीनबर्गले विश्व क्रिकेटमा सबै देशहरूले टेस्ट खेल्ने आकाङ्क्षा राख्नु ठीक नहुन सक्ने उल्लेख गरेका छन् । यसले केही आर्थिक रूपमा कमजोर बोर्डहरूमा बोझ पर्ने उनको बुझाइ छ ।
देशहरूलाई टेस्ट क्रिकेट खेल्न बाध्य पार्नु भनेको टाट पल्टाउन खोज्नु रहेको ग्रीनबर्ग बताउँछन् । टेस्ट क्रिकेट खेल्नका लागि सही ठाउँमा लगानी गर्ने कुरा सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ छ ।
यस महिनाको शुरूमा भारत र इङ्ग्ल्यान्डबीचको पाँच खेलको टेस्ट शृङ्खला उत्कृष्ट मोडमा पुग्दै २–२ को बराबरीमा सकिएको थियो । यद्यपि अस्ट्रेलियाले वेस्ट इन्डिजमा खेलिएका ३ वटै टेस्ट कम्तीमा १३३ रनले जितेको थियो भने न्युजिल्यान्डले जिम्बावेमा शृङ्खलामा सहज जीत हासिल गरेको थियो । यी नतिजाहरूले फेरि टेस्ट क्रिकेटको ढाँचालाई लिएर बहस शुरू भएको छ ।
क्रिकेटको सबैभन्दा छोटो फम्र्याट टी–२० आएपछि टेस्टका लागि कठिन साबित भएको छ । टी–२० फ्रेन्चाइजी लिग र ‘द हन्ड्रेड’ प्रतियोगिताले विश्वव्यापी ध्यान तानिरहेको छ ।








