गृहपृष्ठ अन्तरास्ट्रिय खबर अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसको गुप्तचर सेवा खारेज गर्ने ट्रम्पको निर्णय

अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसको गुप्तचर सेवा खारेज गर्ने ट्रम्पको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति कमला ह्यारिसको सिक्रेट सर्भिस अर्थात् गुप्तचर सेवा सुरक्षा खारेज गर्नुभएको छ । ट्रम्पको निर्णयसँगै ह्यारिस अब पर्सि सेप्टेम्बर एक तारिखदेखि गुप्तचर सेवा सुरक्षाविहीन बन्नुहुनेछ ।

ह्यारिसले डेमोक्र्याटिक पार्टीको तर्फबाट ट्रम्पसँग राष्ट्रपतिय चुनावमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो । गएको जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई लक्षित गरी विभिन्न कदम चाल्दै आउनुभएको छ ।

अमेरिकाको सङ्घीय कानूनअनुसार पूर्व राष्ट्रपतिले आजीवन र पूर्व उपराष्ट्रपतिले पदावधी सकिएपछि छ महिनासम्म सिक्रेट सर्भिसको सुरक्षा पाउने व्यवस्था छ । कानुनअनुसार ह्यारिसको पदावधी सकिएको छ महिनापछि सिक्रेट सर्भिस नपाउने भए पनि तत्कालीन राष्ट्रपति जो बाइडेनले आदेश जारी गर्दै ह्यारिसका लागि थप एक वर्ष सिक्रेट सर्भिसको सुरक्षा दिने निर्णय गर्नुभएको थियो ।

जो बाइडेनको आदेशलाई खारेज गर्दै राष्ट्रपति ट्रम्पले ह्यारिसले थप एक वर्ष पाउने सिक्रेट सर्भिस खारेज गरिदिएको बीबीसीले जनाएको छ । तत्कालीन आदेशअनुसार उहाँले सन् २०२६ जुलाई २१ सम्म सिक्रेट सर्भिस पाउनुहुने थियो ।

ह्यारिस पहिलो महिला र पहिलो अप्रवासी महिला उपराष्ट्रपति भइसकेको व्यक्ति हुनाले सुरक्षा चुनौतीतर्फ पनि ध्यान दिनुपर्नेबारेमा केहीले जोड दिँदै आएका खबरमा उल्लेख छ ।

सम्बन्धित् समाचार