नेपाली युवामाथि भारत र चीनको प्रभाव कमजोर बनाउन अमेरिका सरकारले एकै वर्षमा झण्डै आधा अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ ।
इन्टरनेसनल रिपब्लिकन इन्स्टिट्युटको रिपोर्टअनुसार सन् २०२१ जुलाईदेखि २०२२ जुनसम्मको अवधिमा मात्र यस्तो लगानी भएको हो । ‘युवा नेतृत्व’ कार्यक्रमको नाममा उक्त रकम खर्च गरिएको बताइएको छ । तर, सन् २०२३, २०२४ र २०२५ का लागि युवामा गरिएको राजनीतिक लगानीबारे जानकारी भने सार्वजनिक गरिएको छैन ।
भारत र चीनको प्रभाव घटाउन अमेरिकाले नेपाली युवालाई राजनीतिक मुद्दामा सक्रिय बनाउँदै साढे तीन लाख अमेरिकी डलर लगानी गरेको कुरा सन्डे गार्डियन अखबारले जनाएको छ । यो रकम पनि सन् २०२१ देखि २०२२ सम्मकै हो । आईआरआईका अनुसार उक्त रकम नेपालमा भारत र चीनविरुद्ध बोल्ने तालिम दिन खर्च गरिएको हो ।
१६ फेब्रुअरी २०२२ मा काठमाडौंस्थित सोलुसन कन्सल्टेन्ट्ससँग ९ हजार १३५ अमेरिकी डलरको सम्झौता भएको थियो । सम्झौताअनुसार सामूहिक छलफलमार्फत राजनीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । यसलाई ‘युवा नेतृत्व–पारदर्शी नीति’ नाम दिइएको थियो । सम्झौता यति कडा थियो कि त्यसमा चिनियाँ टेलिकम्युनिकेसन प्रविधि प्रयोग नगर्नुपर्ने र भारत तथा चीनबाट ल्याइएका नीतिहरूको विरोध गर्नुपर्ने उल्लेख गरिएको थियो ।
त्यसैगरी इजरायली कम्पनीले ३४ प्रतिशत नेपाली जेन–जी आन्दोलनलाई उक्साउने खालका फेक ‘अकाउन्ट’ भेटिएको दाबी गरेको तथ्य पनि सन्डे गार्डियनमा उल्लेख छ ।