वैखरी अनलाइन, कपिलवस्तु ।
हालैको बेमौसमी वर्षापछि कपिलवस्तुका कृषकहरू ठूलो चिन्तामा परेका छन् । काटिसकेको धानमा पानी जम्दा र काट्ने तयारी अवस्थामा रहेको धान ढल्दा कृषकहरूले धान खेतीमा ठूलो नोक्सानी बेहोर्नु परेको बताएका छन् ।
कृषि ज्ञान केन्द्र, कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा करिब ६२ हजार ९ सय ७ हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । उहाँले हालसम्म करिब २५ प्रतिशत धान काटिएको जानकारी दिनुभयो ।
बाणगंगा नगरपालिका–१० का किसान सन्तोष चौधरीले वर्षाले निकै दुःख दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “१६ कठ्ठा खेतमा वर्षभरी खाने धान लगाएका थियौँ, काटेर खेतमै राखेको थियौँ, पानी परेपछि सबै भिज्यो, निकै दुख लाग्यो।”
बेमौसमी वर्षाका कारण धान सुकाउने, भण्डारण गर्ने र नयाँ बाली लगाउने तयारीमा रहेका किसानहरूको योजना पनि प्रभावित बनेको छ । कृषकहरूले यथाशीघ्र मौसम स्थिर भइ धान बचाउने आशा व्यक्त गरेका छन् ।


 
 
 
				

 
				




 
																		 
																		