नेपाली राष्ट्रिय टिमकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) करिब एक वर्ष मैदानबाहिर हुने भएकी छन्। अस्ट्रेलियाको व्यवसायिक लिग खेलिरहेकी साम्बा, वेलिङ्टन फिनिक्स एफसीका लागि सिजनभर उपलब्ध नहुने पक्का भएको छ।
क्लबले केही दिनअघि सार्वजनिक गरेको जानकारी अनुसार, साम्बाको दायाँ घुँडाको एसीएलमा गम्भीर चोट पुष्टि भएको छ। एमआरआई परीक्षणले चोट गम्भीर रहेको देखाएको छ र उनलाई ९-१२ महिनासम्म मैदानबाहिर रहनुपर्ने क्लबले जनाएको छ।
उनको चोट ब्रिसबेन रोअरविरुद्धको राउन्ड ११ खेलको दोस्रो हाफमा गोलरक्षक क्लोई लिंकनसँग ठोकिन पुग्दा लागेको हो। साम्बाको पुरानो एसीएल चोट पुनः दोहोरिएको छ। उनले २०२१ मा पनि घुँडाको शल्यक्रिया गराएकी थिइन्।
वेलिङ्टन फिनिक्सले साम्बाप्रति सहानुभूति व्यक्त गर्दै उनको शीघ्र र समस्यारहित स्वास्थ्य लाभको कामना गरेको छ।
क्लबले सामाजिक सञ्जालमार्फत साम्बाका लागि दुःख व्यक्त गर्दै चाँडै स्वस्थ भएर मैदान फर्किने विश्वास व्यक्त गरेको छ।







