गृहपृष्ठ Featured बाणगंगामा चालु आवको प्रथम समीक्षा: नीति–कार्यक्रम कार्यान्वयन सन्तोषजनक भएको निष्कर्ष

बाणगंगामा चालु आवको प्रथम समीक्षा: नीति–कार्यक्रम कार्यान्वयन सन्तोषजनक भएको निष्कर्ष

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले चालु आर्थिक बर्ष २०८२/८३ को प्रथम समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम मंगलबार नगरपालिकाको आफ्नै सभाहलमा सम्पन्न भएको हो ।

नगरप्रवक्ता विष्णुप्रसाद पौडेका अनुसार कार्यक्रमले कार्यपालिकाको बैठकबाट पारित कार्यतालिकाअनुसार नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको निष्कर्ष निकालेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले चालु आवमा तय गरिएका नीति तथा कार्यक्रमहरू निर्धारित कार्यतालिकाअनुसार कार्यान्वयनतर्फ उन्मुख रहेको बताउनुभयो। सीमित स्रोत–साधनका बाबजुद नगरवासीको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर योजना कार्यान्वयन भइरहेको उहाँको भनाई छ ।

उहाँले समीक्षाबाट देखिएका कमजोरी सच्याउँदै बाँकी अवधिमा अझ प्रभावकारी ढंगले काम अघि बढाइने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले समावेशी विकास र सेवा प्रवाहमा नगरपालिकाले गरेको प्रयास सकारात्मक रहेको बताउनुभयो । सामाजिक विकास, शिक्षा, स्वास्थ्य र महिला–बालबालिकासँग सम्बन्धित कार्यक्रमहरू कार्यान्वयनमा देखिएको प्रगतिले आगामी दिनका लागि थप उत्साह प्रदान गरेको उहाँले बताउनुभयो ।

साथै उहाँले पारदर्शिता र जवाफदेहितामा जोड दिँदै सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले प्रस्तुतिकरणका क्रममा चालु आवको पहिलो त्रैमासिक अवधिमा भएका प्रगति, बजेट खर्चको अवस्था तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो।

उहाँले कार्यपालिकाबाट पारित योजना र कार्यक्रमहरू कार्यान्वयनमा ल्याउन प्रशासनिक तह सक्रिय रूपमा लागेको बताउँदै समीक्षाबाट प्राप्त सुझाव र निर्देशनलाई आत्मसात् गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइनेछ बताउनुभयो ।

समीक्षा कार्यक्रममा सहभागीहरूले योजना कार्यान्वयनको गति, गुणस्तर र प्रभावकारितामा सुधार गर्दै नगर विकासलाई दिगो र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, वडा अध्यक्षहरू, नगरसभा सदस्य, विषयगत शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको विषयवस्तु तथा प्रस्तुतिकरण प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले गर्नुभएको थियो।

सम्बन्धित् समाचार