कक्षा ४ देखि १२ सम्म अध्ययन हुने सामाजिक अध्ययन विषय परिमार्जन गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कतिपय पाठ जटिल भएको, सिलसिला र तहगत क्रम नमिलेको भन्दै परिमार्जन गर्न लागेको हो ।
पाठ्यक्रम परिमार्जनका लागि विद्यालय र शिक्षकहरूसँग छलफल भइसकेको छ । केन्द्रका अनुसार सातै प्रदेशका सामाजिक अध्ययन विषय पढाउने शिक्षकसँग पनि छलफल भएको छ ।
पाठ्यक्रम परिमार्जका लागि केन्द्रले कार्यदलसमेत बनाएको छ । केन्द्रका महानिर्देशक युवराज पौडेलले कार्यदलले काम गरिरहेको जानकारी दिए । उनका अनुसार पुरानो पाठ्यक्रम र अरू देशको सामाजिक अध्ययनभित्र के–के छ त्यसमा तुलनात्मक अध्ययन पनि भइसकेको छ ।
‘पाठ्यक्रमलाई आवश्यक छलफल गरेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा लगिएको छ, गत १९ असारमा परिषद्ले छलफल पनि गरेको थियो,’ उनले भने, ‘पाठ्यक्रमअनुसार कक्षा ४, ५, ८, १० र १२ को पाठ्यक्रम लेखन कार्य भइरहेको छ । यो पाठ्यपुस्तकमा १८ जिल्लामा २० विद्यालयमा पाठ्यक्रम परीक्षणसमेत गरेर बल्ल कार्यान्वयनमा ल्याइनेछ, तर अझै थुप्रै काम बाँकी रहेकाले ०८४ को शैक्षिक सत्रदेखि मात्र नयाँ पाठ्यक्रम लागू हुन्छ ।’







