काठमाडौं ।
तराईका धेरै भूभागमा केही हप्तायता हुस्सु र कुहिरो लाग्दै आएको छ । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ । जसले जनजीवन प्रभावित हुँदै आएको छ ।
चिसो बढेपछि सरकारी निकायले चोक–चोकमा आगो बाल्न दाउरा वितरण गर्दै आएका छन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन् ।
आज पनि तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । यो मध्याह्नसम्म रहनेछ ।
नेपालगञ्ज, जनकपुर, विराटनगर र सिमरामा ५० मिटर भिजिविलिटी छ । चन्द्रगढीमा १०० र धनगढीमा एक हजार मिटर भिजिविलिटी रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।
तराईमा केही हप्तायता हुस्सु र कुहिरो लागे पनि त्यसलाई शीतलहर भन्न नमिल्ने उनी बताउँछन् । शीतलहर सुरु नभएकै कारण जल तथा मौसम विज्ञान विभागले शीतलहर घोषणा नगरेको उनको भनाइ छ ।
शीतलहर हुन केही निश्चित मापदण्ड पूरा हुनुपर्ने तर त्यो अहिले नभएकै कारण शीतलहर घोषणा नगरिएको उनी प्रष्ट पार्छन् ।
“अहिले चिसो दिन भए पनि शीतलहर नै चलेको छैन,” मौसमविद् अधिकारी भन्छन्, “अहिले कोल्ड डेज चलिरहेका छन् तर कोल्ड वेभ चलेको छैन ।”
शीतलहर हुन कम्तीमा तीन दिन लगातार कुहिरो लागेको हुनुपर्छ । दिनभर घाम नलागी कुहिरो लाग्नुपर्छ ।
“तर, हिजोको मात्रै उदाहरण हेर्ने हो भने तराईमा बिहान एक छिन हुस्सु र कुहिरो लागे पनि दिउँसो घाम लागेको थियो,” उनी भन्छन् ।
शीतलहर हुनलाई न्यूनतम र उच्चतम तापक्रमको अन्तर कम्तीमा पाँच डिग्री सेल्सियसको बीचमा रहनुपर्छ, जुन यो वर्ष यस्तो भएको छैन ।
“दिउँसो घाम लाग्नबित्तिकै न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर धेरै भइहाल्छ,” मौसमविद् अधिकारी अगाडि थप्छन्, “बिहान न्यूनतम तापक्रम तीन छ भने घाम लागेपछि दिउँसो १५/१६ डिग्रीभन्दा माथि पुग्छ, यसमा अन्तर नै धेरै हुन्छ ।”
शीतलहरको समयमा जलवाष्प जलकणमा परिणत हुन्छ । र, त्यो जलकणलाई कुहिरो भनिन्छ । कुहिरो लागेको समयमा पृथ्वीको सतह र नजीकको वायुमण्डल चिसो हुन्छ, लगातार लामो समय चिसो हुँदा जनजीवन प्रभावित हुन्छ ।







