गृहपृष्ठ Featured बाणगंगाको दर्शन चोकमा भोलि भव्य रूपमा पृथ्वी जयन्ती मनाइँदै

बाणगंगाको दर्शन चोकमा भोलि भव्य रूपमा पृथ्वी जयन्ती मनाइँदै

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित दर्शन चोक (चारनम्बर-तौलिहवा सडकखण्ड) मा भोलि पुस २७ गते पृथ्वी जयन्ती भव्यताका साथ मनाइने भएको छ। राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीको अवसरमा नेपाल दर्शन समाज कपिलवस्तुले विशेष कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाल दर्शन समाज कपिलवस्तुकी अध्यक्ष सुनिता सेनका अनुसार कार्यक्रमअन्तर्गत नेपाली सेनाद्वारा सम्मान गारत अर्पण गरिनेछ भने दर्शक चोकमा स्थापित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिनेछ।

अध्यक्ष सेनले नेपाल एकीकरणका अभियन्ता राजा पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस कार्यक्रमले राष्ट्रिय एकता, स्वाधीनता र राष्ट्रनिर्माणको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

सरकारले पृथ्वी जयन्ती मनाउने औपचारिक निर्णय गरिसकेको स्मरण गराउँदै अध्यक्ष सेनले राष्ट्रिय एकीकरणको उद्देश्य, पृष्ठभूमि र इतिहासलाई सम्झाउने अवसरका रूपमा पृथ्वी जयन्ती मनाउन लागिएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था, सुरक्षाकर्मी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

सम्बन्धित् समाचार