गृहपृष्ठ Featured बालेनलाई ८ करोडको डिफेन्डर गाडी दिने मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’

बालेनलाई ८ करोडको डिफेन्डर गाडी दिने मालपानीविरुद्ध ‘सुर्ती मुद्दा’

चुनावको प्रचारप्रसारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चढेको गाडी यतिबेला चर्चामा छ । झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेनले बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर प्रयोग गरेका छन् ।

जगुरा ल्यान्ड रोभर लिमिटेडको उत्पादन डिफेन्डरको नेपाली मूल्य ८ करोड रुपैयाँको चर्चा छ । तर, नेपालमा डिफेन्डरको बिक्री वितरण गर्दैआएको कम्पनी कायरोस इन्टरनेसनल प्रालिले भने गाडीको वास्तविक बिक्री मूल्य ४ करोड २९ लाख रहेको बताएको छ ।

हालसम्म नेपालमा डिफेन्डर ४ युनिट आयात भएको छ । जसमध्ये तीनवटा बिक्री भइसकेको र एउटा स्टकमा रहेको कम्पनीका कानुनी सल्लाहकार जीवन घिमिरेले जानकारी दिए । विगत तीन वर्षदेखि गाडीको बिक्री गर्दै आएको कम्पनीले डिफेन्डरको माग (अडर) आएपछि मात्र ल्याउने र बेच्ने गर्ने गरिएको घिमिरेले बताए ।

काठमाडौं महानगरको मेयर पद छोडेर चुनावी मैदानमा उत्रिँदै गरेका बालेनले यति महंगो गाडी कसरी चढे ? यति महंगो गाडी चुनाव प्रचारप्रसारका लागि उनलाई कसले उपलब्ध गरायो ? यी प्रश्न सर्व  चर्चामा छन् ।

बालेनले चढेको ल्यान्ड रोभर डिफेन्डर त्रिमूर्ति इन्डस्ट्रिज प्रा.लि.को नाममा दर्ता भएको खुलेको छ । जुन कम्पनीका मालिक (लगानीकर्ता) हुन् कमलकिशोर मालपानी ।

को हुन् मालपानी ?

व्यावसायीक पृष्ठभूमिका मालपानीको लगानी सुर्तीजन्य वस्तु उत्पादन कम्पनी श्रीराम टोबाको कम्पनीदेखि पछिल्लो समय लोकप्रिय तयारी चाउचाउ करेन्टसम्म छ । बुटवल र रुपन्देही क्षेत्रमा पाँचतारे होटल ‘सफ्रोन सीके’ तथा अन्य उद्यमहरूमा समेत मालपानीको लगानी रहेको पाइएको छ ।

सफल उद्योगीको रूपमा स्थापित मालपानी केही वर्षअघि मात्र मानपदवी जनसेवाश्री पदकबाट समेत सम्मानित भएका थिए । तथापि, उनीविरुद्ध २०७६ मा कर छली तथा झुट्टा (नक्कली भ्याट)को कारोबारमा संलग्न भएको भन्दै राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको भेटिएको छ ।

विभागका अनुसार गत पुस २०७६ मा बुटवल नगरपालिका वडा नं. १२ स्थित श्रीराम टोबाको उद्योग प्रा.लि.का सञ्चालक मालपानीसहित सात जना सञ्चालकहरूविरुद्ध मुद्दा दायर भएको थियो । राजस्व चुहावट अभियोगमा तत्कालीन समयमा विभागले श्रीराम टोबाको उद्योगविरुद्ध १० करोड ७३ लाख बिगो दाबी गर्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, यस मुद्दाको किनारा हालसम्म लागे वा नलागेको विभागले जानकारी दिएको छैन ।

तर, चुनावी प्रचारप्रसारका लागि चर्चित अनुहार बालेनलाई आफ्नै महंगो गाडी दिएपछि मालपानी फेरि एकपटक चर्चामा आएका छन् ।

सम्बन्धित् समाचार