नेपाली कांग्रेस सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर प्रतिनिधिसभा निर्वाचनमा होमिएको छ। शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय लिएको हो।
सानेपामा पहिलो पटक बसेको केन्द्रीय समिति बैठकमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन उपसभापति विश्वप्रकाश शर्माले प्रस्ताव गरेका थिए भने उपसभापति पुष्पा भुसालले समर्थन जनाएकी थिइन्। जसलाई केन्द्रीय कार्यसमितिले सर्वसम्मत अनुमोदन गर्यो। केन्द्रीय समितिको बैठकमा भएको निर्णय सुनाउन पनि उपसभापति शर्मा नै अगाडि आए।
सभापति थापासँगै उभिएर उपसभापति शर्माले फागुन २१ को निर्वाचनमा कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुका ७ आधार सुनाए। यसलाई उनले विशिष्ट परिस्थितिको मागका रुपमा अर्थ्याए।
‘सामान्यतया निर्वाचनपछि मात्रै प्रधानमन्त्री पदका लागि व्यक्ति अघि सार्ने प्रचलन रहिआएको हो। तर नेपाली कांग्रेसले चुनाव अभियान क्रममै आफ्नो उम्मेदवार प्रस्तुत गर्ने तयारी गर्नुको अर्थ मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने जमर्को हो,’ शर्माले भने।
सम्भावित प्रधानमन्त्रीको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनको तुलनात्मक अध्ययन र विश्लेषण गर्न मतदातालाई सहज हुने तथ्य हृदयंगम गरेर कांग्रेसले उम्मेदवारका रूपमा सभापति गगन थापालाई अघि सारिरहेका उनको दलिल थियो।
सभापति थापाले परिवर्तित समय र स्वरलाई डाइनामिक ढंगले नेतृत्व गर्नसक्ने विश्वास पार्टीले गरेको शर्माले सुनाए।
‘जेनजी विद्रोहले अपेक्षा गरेको परिवर्तनलाई आत्मसात गर्ने र अस्वीकार गर्ने दुईथरी प्रवृत्ति नेपाली राजनीतिमा प्रकट भएकै हो। हामीले परिवर्तनलाई आत्मसात गर्दै आत्मसमीक्षा र आत्मालोचनाको मार्गबाट नवयुवाहरूसँग संवाद गर्ने पहल सुरु गर्यौँ,’ उनले भने, ‘उनीहरूले उठाएका मुद्दाको स्वामित्व लिएर मुलुकमा सुशासन स्थापित गर्ने संकल्प र योजना पार्टीको विशेष महाधिवेशनबाट लिएका छौँ। गगन थापाले परिवर्तित समय र स्वरलाई डाइनामिक ढंगले नेतृत्व गर्नसक्ने हाम्रो विश्वास छ।’
अरु दलले घोषणा गरेको प्रधानमन्त्री उम्मेदवार, अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहप्रति इंगित गर्दै कांग्रेसले सफल र परिपक्वक उम्मेदवार थापालाई अगाडि सारेको शर्माको दाबी थियो।
‘जुझारु विद्रोही छवि मात्रै होइन, प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग। उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दीर्घजीवी,’ उनी भन्छन्, ‘देशको प्रधानमन्त्री बन्ने व्यक्तित्वले त झनै आवेगलाई होइन, संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने हुन्छ। त्यो सामथ्र्य राख्ने व्यक्तित्व हामीले प्रधानमन्त्री पदका लागि सर्वाधिक उपयुक्त भनेर अघि सारेका छौँ।’
सभापति थापा संघर्षमा सबल र सत्तामा अब्बल रहेको शर्माको भनाइ थियो।
‘प्रश्न उठाउने संघर्ष र जवाफ पस्किने दायित्व बोकेको सत्ता, मूलतः दुई थलोमा हुन्छ राजनीतिज्ञको परीक्षा। निकट विगतको लोकतान्त्रिक संघर्षमा सबल र ततपश्चातको सत्तामा अब्बल प्रमाणित भएको नाम हो– गगन थापा। छोटो समय मन्त्री छँदा प्रस्तुत गरेको विषयगत र व्यावहारिक कुशलता मुलुकको प्रधान नेतृत्वका लागि प्रारम्भिक अनुभव र दृष्टान्त छ,’ उनी भन्छन्।
भूगोल, भावना र टिम स्पिरिटको समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा सभापति थापाबाट हुनसक्छ भन्नेमा कांग्रेस दृढ ढंगले प्रस्ट रहेको शर्माले बताए।
‘देश भन्नु भूगोल र नागरिकको भावनाको सबल सम्मिश्रण हो। प्रधानमन्त्रीको उम्मेदवारले देशको दूरदराजदेखि संसारको पल्लो कुनामा बसेका नेपालीसम्मको भावना गहिरोसँग बुझेको हुनैपर्दछ। अर्थतन्त्र, वैदेशिक सम्बन्ध, शैक्षिक क्षेत्रको रुपान्तरण, श्रम र कृषि क्षेत्रको आधुनिकीकरण अथवा ‘मिसन रोजगारी’ होस्। महिला, आदिवासी–जनजाति, मधेस र कर्णाली, दलित, अल्पसंख्यक समुदायका लागि ‘नयाँ दृष्टि र नयाँ सृष्टि’ को सोचमा ‘टिम स्पिरिट’ का साथ हामी उपस्थित छौँ,’ उनले भने।
कांग्रेसका चुनावी कमान्डर शर्माले सभापति थापा सर्लाही–४ बाट उम्मेदवार बन्नुलाई सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्पका रुपमा अर्थ्याए।
‘प्रधानमन्त्रीको उम्मेदवारलाई सबैभन्दा बढी जनसंख्या भएको भेगीय सहादतको भूमि, रामजानकीको आँगनी मधेसबाट उम्मेदवार बनाउनु भनेको एकतर्फ मधेस र मधेसका मतदाताप्रति नेपाली कांग्रेसले सम्मान प्रकट गरेको हो। अर्कातर्फ, मधेसको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि हो,’ उनले भने।
सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि सार्ने विशेष महाधिवेशनबाट आएको कार्यसमितिको सर्वसम्मत निर्णयलाई शर्माले सगौरव सुनाए पनि कांग्रेस विवाद टुंगिएको छै्रन।
निवर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्ष सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयबारे मौन छन्। कांग्रेसले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिएकोबारे नेपालखबरले सोध्दा देउवा र कोइराला पक्षका शीर्ष नेताले कुनै टिप्पणी गर्न चाहेनन्।
कांग्रेसमा विवादका बीच भएको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले दिएको मान्यताको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालतमा कानुनी लडाइँमा छ। यद्यपि, सो समूहका कतिपय नेता सभापति थापाबाट टिकट लिएर चुनावमा होमिइसकेका छन्।
समानुपातिक मतमा रेकर्ड ब्रेक गर्ने योजना
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा निर्वाचनमा होमिएको कांग्रेसले २०१५ सालमा ३७.२ प्रतिशत मत प्राप्त गरेको थियो। सन्त नेता कृष्णप्रसाद भट्टराई कार्यवाहक सभापतिको जिम्मेवारीमा हुँदा २०४८ मा कांग्रेसले ३७.७५ प्रतिशत मत पाएको थियो।
सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०५१ को भएको मध्यावधि निर्वाचनमा कांग्रेसले ३३.३८ प्रतिशत मत मात्र पायो। आन्तरिक कलह सम्हाल्न नसकेर मध्यावधिमा गएको कांग्रेसले ४.३७ अंकको क्षति बेहोरेको थियो। कोइरालाकै नेतृत्वमा रहँदा पनि २०५६ मा कांग्रेसले ३७.१७ प्रतिशत मत पाएको थियो। तर, त्यसबेला भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेसले ३.७० अंकको प्रगति गरेको थियो।
माओवादीको जनउभार आएको २०६४ को निर्वाचनमा कांग्रेस समानुपातिकतर्फ २१.१४ प्रतिशतमा खुम्चिन पुग्यो। कांग्रेसले २०५६ देखि ०६४ को बीचमा १६.०३ अंकको क्षति बेहोरेको थियो।सादगी नेता सुशील कोइरालाको नेतृत्वमा रहेको कांग्रेसले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा २५.५५ प्रतिशत मत पाएको थियो।
त्यसबेला अघिल्लो चुनावमा भन्दा ४.४१ प्रतिशत अंक मत थप्यो। संसदीय राजनीतिका कुशल खेलाडी शेरबहादुर देउवा नेतृत्वमा हुँदा २०७४ मा कांग्रेसले ३२.७८ मत पायो। देउवाको पहिलो कार्यकालमा भएको कांग्रेसले ७.२३ अंकको वृद्धि गरेको थियो।
देउवाको नेतृत्वमै २०७९ को निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २५.७१ प्रतिशत मा मत पायो। पार्टीमा देउवाले दोस्रो कार्यकाल सम्हाल्दा कांग्रेसको समानुपातिक मतमा ७.०७ प्रतिशत अंकले ह्रास भएको थियो। गत भदौ २३–२४ को जेनजी आन्दोलनले नियमति राजनीतिक कोर्स नै बदलेर फागुन २१ का लागि प्रतिनिधिसभा निर्वाचन हुने परिस्थिति बन्यो।
कांग्रेसलाई आफ्नै नेतृत्वमा फागुन २१ को निर्वाचनमा लैजाने देउवाको योजनामा विशेष महाधिवेशन गराएर तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ब्रेक लगाइदिए। विशेष महाधिवेशनबाट देउवा नेतृत्वको कार्यसमिति विघटन गरी गत पुस ३० मा गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
कांग्रेसका समानुपातिक उम्मेदवारको बन्दसूची देउवाले बुझाए पनि प्रत्यक्षतर्फको टिकट सभापति थापाले वितरण गरेका छन्। सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिएको कांग्रेसले समानुपातिकतर्फ रेकर्ड ब्रेक गर्ने लक्ष्य राखेको छ।
उक्त लक्ष्य प्राप्तिका लागि सभापति थापाले कांग्रेसमा १२.२ प्रतिशत अंकले मत वृद्धि गर्नुपर्ने हुन्छ। जुन चुनौतीपूर्ण छ। अहिलेसम्म कांग्रेसको समानुपतिक निर्वाचनको ढाँचा हेर्दा यति ठूलो उछाल भएको देखिँदैन।
सभापति थापाको ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्पमा मतदाता विश्वस्त हुँदा भने यो लक्ष्य असम्भव नभएको कांग्रेस नेताहरूको तर्क छ।







