काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि साथ दिन सबैलाई आह्वान गरेका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेलाई निर्वाचनमा विजयी बनाउने काममा सक्रियतापूर्वक लागि दिन आग्रह गरेका हुन्।
उनले देश र जनताको हितमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने जिकिर गरे। उनले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताए।
उनले भने, ‘तपाईंहरु सबैलाई म आग्रह गर्न चाहन्छु– नेकपा एमालेलाई साथ दिनुहोस्। एमालेले तपाईंहरुलाई साथ दिनेछ। एमाले तपाईंहरुका लागि काम गर्छ। अरु कुनै उद्देश्य छैन। जनताका लागि काम गर्ने हो, देशका लागि काम गर्ने हो। आफ्ना लागि काम गर्ने होइन एमालेले। त्यसकारण मेरो आग्रह यही छ– तपाईंहरु सक्रियतापूर्वक एमालेलाई विजयी बनाउने काममा लाग्नुस्। देशले जित्नेछ, शान्तिले जित्नेछ। सुशासनले् जित्नेछ, विकासले जित्नेछ।’








