त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘लो भिजिबिलिटी’ का कारण बुधबार बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ। मौसम प्रतिकूलताका कारण दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इन्डियाको विमान अवतरण गर्न नसकी भारतको वाराणसी डाइभर्ट गरिएको छ।
विमानस्थल कार्यालयका अनुसार काठमाडौँको आकाशमा लामो समय ‘होल्ड’ भएपछि इन्धन र सुरक्षाका कारण जहाजलाई भारततर्फै फर्काइएको हो।
हिउँदको समयमा हुने बाक्लो कुहिरो र ‘विन्टर फग’ का कारण भिजिबिलिटी १ हजार मिटरभन्दा तल झरेपछि उडानमा समस्या देखिएको हो। सामान्यतया ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ प्रयोग नगरी सुरक्षित अवतरणका लागि विमानस्थलमा २८ सय देखि ३ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ।
एयर इन्डियासँगै अन्य केही अन्तर्राष्ट्रिय उडानहरू पनि ढिलाइ (डिले) भएका छन् भने आन्तरिकतर्फ पोखरा, भैरहवा र विराटनगरका कतिपय उडान रद्द वा डाइभर्ट गरिएका छन्। जाडोयाममा काठमाडौँको कचौरा आकारको भूगोलमा धुवाँ र कुहिरो थुप्रिँदा भिजिबिलिटी कम भई हरेक वर्ष यस्ता समस्या दोहोरिने गरेका छन्।
विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतका अनुसार मौसममा सुधार नआएसम्म उडान तालिका अझै प्रभावित हुन सक्छ। हाल विमानस्थलमा उडानको पर्खाइमा रहेका यात्रुहरूको चाप बढेको छ।








