बुटवल । आसन्न संसदीय निर्वाचन र वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त, घनश्याम भुसाल) र प्रगतिशील लोकतान्त्रिक पार्टी (जनार्दन शर्मा) बिच महत्त्वपूर्ण चुनावी समझदारी भएको छ । रुपन्देही घनश्याम भुसालको गृह जिल्ला हो ।
दुई पार्टीका जिल्ला समितिबिच भएको द्विपक्षीय छलफल र सहमति अनुसार रुपन्देही जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी बाँडफाँट गरिएको छ । सहमतिअनुसार रुपन्देही निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं ४ मा नेकपा (संयुक्त) का उम्मेदवारलाई प्रलोपाले सहयोग गर्नेछ । त्यस्तै क्षेत्र नम्बर २ र ५ मा प्रलोपाका उम्मेदवारलाई नेकपा संयुक्तले सघाउने निर्णय भएको छ ।
निर्वाचन क्षेत्र नं ३ को हकमा भने दुवै पार्टीले मैत्रीपूर्ण समझदारीका आधारमा उम्मेदवारी दिने सहमति गरेका छन् ।
विशेष गरी निर्वाचन क्षेत्र नं १ मा देखिएको नेकपा (संयुक्त) का तर्फबाट रामचन्द्र भट्टराई सहयोग गर्न पार्टीगत सहमतिअनुसार अब श्रीबहादुर कुँवर निष्क्रिय रहनेछन् । उक्त सहमतिपत्रमा नेकपा संयुक्त रुपन्देहीका अध्यक्ष हीराध्वज शाह र प्रलोपाका रुपन्देही अध्यक्ष कृष्ण कुमार बन्जाडेले हस्ताक्षर गरेका छन् ।









