गृहपृष्ठ खबर कपिलवस्तु- २ : कांग्रेस उम्मेदवार आचार्यको चुनावी माहोल बन्दै

कपिलवस्तु- २ : कांग्रेस उम्मेदवार आचार्यको चुनावी माहोल बन्दै

कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यको चुनावी माहोल दिनप्रतिदिन बन्दै गएको छ।

घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिँदै आचार्यले महाराजगंज नगरपालिका वडा नं. ४ करहवा गाउँ र यशोधरा गाउँपालिका वडा नं. ७ मार्यादपुरमा मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको हो।

घरदैलो अभियानका क्रममा आचार्यले महिला समूह, किसान तथा स्थानीय बासिन्दासँग छलफल गर्दै जनतासँगको भरोसा र सहकार्य नै आफ्नो मुख्य शक्ति भएको बताउनुभयो। उहाँले स्थानीय समस्या, विकासका आवश्यकता र जनचासोका विषयलाई नजिकबाट बुझ्दै सुझाव संकलन गरिरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी स्थानीय महिलाहरूले रोजगारी, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए। आचार्यले यी विषयहरूलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटिएको उल्लेख गर्दै निर्वाचित भए कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी मार्यादपुरमा आयोजित भेटघाट कार्यक्रममा आचार्यले लोकतान्त्रिक मूल्य, सुशासन र समावेशी विकास कांग्रेसको मूल एजेन्डा रहेको बताउनुभयो। स्थानीयवासीले सडक, सिँचाइ तथा कृषि विकासलाई प्राथमिक विषयका रूपमा उठाएका थिए।

जनतासँग प्रत्यक्ष संवाद गर्दै चुनावी अभियानलाई प्रभावकारी बनाइरहेका आचार्यको कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिताले कांग्रेस उम्मेदवारको चुनावी माहोल थप सशक्त बन्दै गएको देखिएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल कलाम, वडा अध्यक्ष चन्द्र प्रकाश दुबे, प्रमोद चौधरी, पूर्व वडाध्यक्ष सुशील चौधरी, क्षेत्रीय सचिव परुवालाल यादव लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

सम्बन्धित् समाचार