वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कमालले जिल्लाको समृद्धि र समग्र विकासका लागि प्रतिनिधिसभाका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको कपिलवस्तु क्षेत्र नं.१ (ख) प्रदेश सभा क्षेत्रीय कार्यकर्ता भेला छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति कमालले कांग्रेसको नेतृत्वमा मात्रै कपिलवस्तुको दिगो विकास सम्भव हुने उल्लेख गरे ।
उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाजस्ता क्षेत्रमा कांग्रेसले स्पष्ट योजना बोकेको भन्दै आगामी निर्वाचन निर्णायक हुने बताए ।
सभापति कमालले विगतमा पार्टी छाडेर बाहिर रहेका नेता तथा कार्यकर्तालाई समेत पुनः पार्टीमा सक्रिय भई कांग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गरे । “कपिलवस्तुको भविष्य निर्माणका लागि सबै कांग्रेसजन एकजुट हुनुपर्छ,” उनले भने, “व्यक्तिगत असन्तुष्टि र गुनासोलाई थाती राखेर जिल्लाको हितका लागि एक ठाउँमा उभिन आवश्यक छ।”

उनले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउँदै जनताको बीचमा कांग्रेसका एजेण्डा पुर्याउन नेता–कार्यकर्तालाई सक्रिय हुन निर्देशन समेत दिए । सभापति कमालले जनताको भरोसा जित्ने गरी घरदैलो अभियान, जनसंवाद र विकासका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाइने स्पष्ट पारे ।








