गृहपृष्ठ खबर विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६, दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको हो ।

विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीयवासी वीरबल किराँतीले बताए । यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी त्यसको भोलिपल्ट (माघ २२) बेलुकादेखि बिरामी पर्न थालेका हुन् ।

बिरामी परेका स्थानीयको उपचारका निम्ति गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् । विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका निम्ति शिविरमा आउने–जानेक्रम जारी रहेको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले बताए ।

उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर स्वास्थ्य जाँचको व्यवस्था  मिलाएको हो ।

भोज खाएर फर्किएका उदयपुर, काठमाडौंलगायत स्थानका पाहुना समेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताइन् । “शिविरमा अहिले पनि ३५ जनालाई स्लाइनपानी र औषधि दिएर उपचार गरिरहेका छौँ । विवाह भोज खाएका सबै बिरामी भएका छन्,” उनले भनिन्, “विवाहमा करिब २०० जनाले भोज खाएको अनुमान गरिएको छ । शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ । उनीहरूको उपचारको व्यवस्था मिलाउन पहल भइरहेको छ ।”

केही व्यक्ति उपचारपछि घर फर्किएका स्वास्थ्यकर्मीले बताएका छन् ।  भोजमा भएको ‘फुडपोइजन’को कारण पत्ता लगाउने प्रयास जारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलले बताए ।

“विवाह भएको धेरै दिन भएकाले भोजको स्याम्पल संकलन गर्न सकिने अवस्था छैन । भोज खाएर काठमाडौं गएका एक बिरामीलाई टेकु पठाएका छौँ,” उनले भने, “फुडपोइजनले धेरै दुर्घटना हुनसक्छ । जन्तेढुंगामा बिरामी पहिचान भएलगत्तै औषधि उपचार सुरु गरिएकाले घटना नहोला भन्नेमा हामी विश्वस्त छौँ ।”

बिरामीको चाप बढ्दै गएपछि आधारभूत अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

प्रभावित क्षेत्रबाहिरका तथा जटिल किसिमका बिरामीलाई आधारभूत अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको हो । रासस

सम्बन्धित् समाचार