नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोचविचार गरेर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै ओलीले एमाले नेता तथा कार्यकर्तालाई स्पष्ट विवरण सुनाएर मत माग्न भनेका छन्। ‘देशभर चुनावी मैदानमा खडा भएका हाम्रो पार्टी नेकपा (एमाले) का उम्मेदवार र प्रचारक साथीहरूलाई मेरो आग्रह छ- मतदातालाई हामीले गरेका कामहरूको स्पष्ट विवरण सुनाउनुहोस्। उहाँहरूको प्रश्न धैर्यपूर्वक सुन्नुहोस्। किनकि एमाले प्रश्नहरूको अग्निपरीक्षाबाट खारिएर बनेको राजनीतिक विरासत हो’, ओलीले भनेका छन्।
उनले मतदातालाई भावनामा भड्काएर नभई तथ्य प्रस्तुत गरेर भोट माग्नुपर्ने बताएका छन्। ‘परिपक्व लोकतन्त्रमा भोट भावना भड्काएर होइन, तथ्य प्रस्तुत गरेर माग्नुपर्छ। बहकाउमा होइन, कामको हिसाब सुनाएर मत माग्नुपर्छ,’ उनले भनेका छन्।
अहिले मतदातालाई भ्रमको डिजिटल ‘इको च्याम्बर’ भित्र कैद गरिएको उनको भनाइ छ। अध्यक्ष ओलीले भनेका छन्, ‘मतदातालाई भ्रमको डिजिटल इको च्याम्बरभित्र कैद गरेर होइन, उम्मेदवारसँग आँखा जुधाएर, प्रश्न गर्ने अवसर दिएर, उत्तर सुनाएर, सत्य छुट्याएर मतदान गर्ने अवसर दिनुपर्छ।’
कसैलाई पनि चुपचाप मतदान नगर्न मतदातालाई ओलीले आग्रह गरेका छन्। ‘साइको थ्रेटले भन्छ- चुपचाप छाप। स्वस्थ निर्वाचन संस्कृतिले भन्छ- आँखा जुधाएर विमर्श र निर्णय,’ पूर्वप्रधानमन्त्री ओलीले थपेका छन्, ‘त्यसैले हाम्रो आह्वान- चुपचाप छाप होइन, सोचीविचारी छाप। आँखा खोलेर भविष्य निर्माण।’







