गृहपृष्ठ Featured रास्वपाका मधेश सभापति यादव भन्छन्- बालेनले गाडीबाटै माल्यार्पण गर्नुभएको हो

रास्वपाका मधेश सभापति यादव भन्छन्- बालेनले गाडीबाटै माल्यार्पण गर्नुभएको हो

जनकपुरधाम ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह चुनावी यात्राका क्रममा मधेश झरेकै दिन विवादको सामना गर्नुपरेको छ । उनले सप्तरीको राजविराजमा स्व. गजेन्द्रनारायण सिंहको शालिकमा ‘माला झटारो हानेको’ विषयलाई लिएर विवाद उब्जिएको हो ।

बालेन आउने भनिएपछि रास्वपाका नेता-कार्यकर्ता र समर्थकहरू बिहानैदेखि गजेन्द्र चोक र पार्टी कार्यालय परिसरमा भेला भएका थिए । बालेनले गजेन्द्र चोकमा रहेको ‘गजेन्द्र बाबु’ को सालिकमा माल्यार्पण गरी नजिकै रहेको पार्टी कार्यालय पुगेर घन्टी बजाउने निर्धारित कार्यक्रम थियो । तर, त्यसो हुन सकेन ।

गाडीको सनरुफबाट हात हल्लाउँदै आए बालेन । राजबिराज चोकमा भिड बाक्लै थियो । शालिक नजिक पुगेपछि बालेनको गाडी ‘स्लो’ भयो तर रोकिएन । बालेनले आफूसँग रहेको माला टाढैबाट शालिकतर्फ हुर्याए र दुई हात जोडेर नमन गरे । बालेनले हुर्याएको माला शालिक रहेको पार्कभित्र रहेका एक समर्थकले समाते । गाडी सरासर अगाडि बढ्यो ।

त्यसपछि बालेन राजविराजकै एक होटलमा खाना खान गए । खाना खाइसकेपछि पुनः फर्किएर औपचारिक माल्यार्पण गर्ने अपेक्षामा समर्थकहरूले करिब एक घण्टाभन्दा बढी पर्खिए । तर बालेनको हुलाकी सडक हुँदै पश्चिमतर्फ लागेपछि उनीहरु क्रुद्ध बनेका छन् ।

घटनापछि सामाजिक सञ्जाल र मधेशको राजनीतिक वृत्तमा बालेन शाहको व्यवहारप्रति आलोचना सुरु भएको छ ।

सप्तरीका पत्रकार अवधेश झाले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै लेखेका छन्, ‘माला फालेर नेता ठान्ने भ्रम नगर्नु । यो गजेन्द्र बाबुमाथिको अपमान राजविराज र मधेशी स्वाभिमानमाथिको प्रहार हो । अपमानको राजनीति यहाँ चल्दैन, यहाँ सम्मानको हिसाब हुन्छ । माला फाल्नु साहस होइन, संस्कारहीनता हो ।’

रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादवले बालेनको बचाउ गरेका छन् । उनले घटनालाई अतिरञ्जित गरिएको टिप्पणी गरे । यादवका अनुसार भिडका कारण बालेन गाडीबाट ओर्लिन नसकेपछि ‘टाढैबाट माल्यार्पण’ गर्नुपरेको हो ।

सम्बन्धित् समाचार