मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ।
आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ।
हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुराको मतपत्र छपाइ सम्पन्न भएको छ।
यस्तै, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङको मतपत्र छपाइ सम्पन्न भएको छ।
त्यस्तै, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो ।
छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ ।








