गृहपृष्ठ Featured उम्मेदवारको परिवारका सदस्यको बैंक खाता निगरानी शुरु

उम्मेदवारको परिवारका सदस्यको बैंक खाता निगरानी शुरु

फाइल तस्विर

काठमाण्डौ — निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारका एकै घरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सबै खर्च बैंकिङ्ग प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि धेरै उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवार सहितको खातामा निगरानी बढाएको हो ।

चुनावी खर्चलाई पारदर्शी बनाउन आयोगले आचारसंहितामा नै बैक खातामार्फत चुनावी खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । बैंक खातामार्फत चुनाव खर्च गर्नुपर्ने प्रावधानको पालन नभएपछि आयोगले निर्वाचन प्रचारप्रसारको समयमा उम्मेदवारसहित परिवारका सदस्यहरुको बैंक खाताको कारोवारमा निगरानी बढाएको हो ।

निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताउनुभयो ।

उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लाको कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको उहाँले उल्लेख गर्नुभयो । आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि सबैलाई आग्रह गर्नुभयो ।

सम्बन्धित् समाचार