गृहपृष्ठ खबर प्रेमिका भेटेको निहुँमा युवकको हत्या

प्रेमिका भेटेको निहुँमा युवकको हत्या

धनुषामा प्रेम सम्बन्धसँग जोडिएको विवादमा एक युवकको हत्या भएको छ । जिल्लाको औरही गाउँपालिका–६ स्थित खेतमा बिहीबार अपराह्न करिब ४ बजे १९ वर्षीय सुमित मण्डल मृत अवस्थामा फेला परेका थिए ।

उनी हंसपुर नगरपालिका–९ रुदौली निवासी गंगाराम मण्डलका छोरा हुन् । प्रहरीका अनुसार उनको घाँटी रेटिएको थियो भने दुवै हात पछाडि बाँधिएको अवस्थामा शव भेटिएको थियो ।

घटनामा संलग्न आरोपमा मृतकसँग प्रेम सम्बन्धमा रहेकी १७ वर्षीया किशोरी काजल कुमारी मण्डलसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काजलका दाजु २० वर्षीय दिपेश कुमार मण्डल र काका २९ वर्षीय परमेश्वर मण्डल पनि छन् ।

प्रारम्भिक अनुसन्धानले सुमित र काजलबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध रहेको देखाएको छ । घटना दिन काजलका अभिभावकसँग विवाह समारोहमा गएका बेला सुमित मोटरसाइकल लिएर उनलाई भेट्न पुगेका थिए।

त्यसक्रममा उनलाई घरभित्रै नियन्त्रणमा लिएर कुटपिट गरिएको र पछि करिब डेढ किलोमिटर टाढा खेतमा लगेर धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा प्रयोग भएको खुकुरी, मोटरसाइकललगायत सामग्री बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार