गृहपृष्ठ Featured मौन अवधिमा रास्वपाको चुनावी गतिविधि : प्रहरीले कार्यालय बन्द गरायो

मौन अवधिमा रास्वपाको चुनावी गतिविधि : प्रहरीले कार्यालय बन्द गरायो

मोरङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मोरङ क्षेत्र नम्बर ६ स्थित चुनावी सम्पर्क कार्यालय मौन अवधिका क्रममा खुलेको पाइएपछि सशस्त्र प्रहरीको टोली पुगेर बन्द गराएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि मौन अवधि लागू भइसकेको छ।

निर्वाचन आयोगले मौन अवधिमा कुनै पनि प्रकारका चुनावी गतिविधि गर्न नपाइने स्पष्ट निर्देशन दिएको छ। तर विराटनगरको चाँदनी चौक गणेश मन्दिर नजिक रहेको रास्वपाको कार्यालयमा उम्मेदवार रुविना आचार्यसहित नेता–कार्यकर्ता सक्रिय रहेको भेटिएपछि सशस्त्र प्रहरीको टोलीले कार्यालय बन्द गराएको हो।

मोरङ–६ का रास्वपा नेता प्रदीप उप्रेतीले भने अनुसूची १९ सम्बन्धी कागजपत्र वडा तथा बुथ प्रतिनिधिलाई जिम्मा लगाउन कार्यालय खोलिएको दाबी गरे। उनका अनुसार प्रचारप्रसार नभई प्रशासनिक कामका लागि मात्रै कार्यालय सञ्चालन गरिएको हो। प्रहरी आएपछि कार्यालय बन्द गरिएको उनले बताए।

उनले भने, ‘हामीले प्रचारप्रसारभन्दा पनि उम्मेदवारले हस्ताक्षर गर्न बाँकी रहेका अनुसूची १९ को कागजपत्र आवश्यक प्रतिनिधिलाई दिएका हौँ। हामीलाई यो कार्य गर्नु हुँदैन भन्ने जानकारी भने भएन। पछि प्रहरी आउनु भयो। हामीले कार्यालय बन्द गर्यौँ।’

यता निर्वाचन कार्यालय कोशी प्रदेशका अधिकृत चोलाराज दंगालले मतदान प्रतिनिधि चयन अनुसूची–९ अन्तर्गत पर्ने स्पष्ट पार्दै मौन अवधिमा अन्य कुनै गतिविधि गर्न नमिल्ने बताए।

सम्बन्धित् समाचार