गृहपृष्ठ Featured कपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु

कपिलवस्तुमा कांग्रेसको ‘जरा अभियान’ सुरु

कपिलवस्तु ।

नेपाली कांग्रेसले कपिलवस्तु जिल्लामा संगठन सुदृढीकरणका लागि “जरा अभियान” शनिवारदेखि सुरु गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयबाट खटिएका केन्द्रीय सदस्य कमल प्रसाद भुसालले तौलिहवास्थित पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलामा अभियानको औपचारिक जानकारी गराएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कांग्रेसलाई सुदृढ, नवीन र बलियो बनाउन एक महिने “जरा अभियान” सञ्चालन गरिएको बताए। अभियान अवधिभर पार्टीका भातृ संगठन, वडा, नगर तथा क्षेत्रीय समितिसँग अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। विगतका कमजोरीलाई सुधार गर्दै अब संगठन मजबुत बनाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए।

उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने तथा डिजिटल प्रणालीमार्फत व्यवस्थित बनाउने काम समेत अघि बढाइएको छ।
कार्यक्रममा सुरेन्द्रराज आचार्यले कांग्रेसलाई बलियो बनाउन नवीन सोच र सक्रियतासहित अघि बढ्नुपर्ने बताए। त्यसैगरी सुधाकर पाण्डेय, अतहर कमाल, सहसराम यादव लगायतका नेताहरूले संगठन सुदृढीकरणमा जोड दिएका थिए।

कार्यक्रममा अन्य नेता कार्यकर्ताहरूले समेत कांग्रेसलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

भेला जिल्ला सभापति अब्दुल कलामको अध्यक्षता तथा सचिव शक्ति सिंह ठकुरी को सञ्चालनमा सम्पन्न भएको थियो।

सम्बन्धित् समाचार