वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । उक्त बैठक शुक्रबार विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम जेठ २७ गते बिहान ७ बजेदेखि नगरसभा समक्ष पेश गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।
साथै नगरसभामा पेश गरिने नीति तथा कार्यक्रमको मस्यौदा समेत कार्यपालिका बैठकले स्वीकृत गरेको उहाँले बताउनुभयो ।
यस्तै बैठकले अघिल्लो बैठकका निर्णयहरूको समीक्षा गरेको छ ।
प्रवक्ता पौडेलका अनुसार बैठकले वर्तमान मूल्य वृद्धिको परिस्थितिका कारण पूर्वाधारसम्बन्धी योजनाहरू सञ्चालनमा केही कठिनाइ देखिएको निष्कर्ष निकालेको छ । मूल्यवृद्धिका कारण विकास निर्माणका कामहरू प्रभावित भएको विषयमा समेत बैठकमा विस्तृत छलफल भएको उहाँले बताउनुभयो ।
बैठकमा नगरप्रमुख चक्रपाणी अर्यालले मूल्यवृद्धिका कारण विकास निर्माणमा देखिएको असरप्रति गम्भीर ध्यान दिइएको बताउँदै उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै योजनाहरूलाई निरन्तरता दिने विषयमा कार्यपालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यस्तै उपप्रमुख रिताकुमारी चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई जनमुखी, व्यावहारिक र परिणाममुखी बनाउने गरी तयारी गरिएको उल्लेख गर्दै नगरवासीका आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइने बताउनुभएको छ ।







