गृहपृष्ठ Featured लुम्बिनीमा ‘यथाशीघ्र’ सरकारको नेतृत्व परिवर्तन गर्ने कांग्रेस संसदीय दलको निर्णय

लुम्बिनीमा ‘यथाशीघ्र’ सरकारको नेतृत्व परिवर्तन गर्ने कांग्रेस संसदीय दलको निर्णय

लुम्बिनी प्रदेशमा सरकार फेरबदलको प्रयास अनुसार कांग्रेस संसदीय दलको सोमबार देउखुरीमा बसेको बैठकले ‘यथाशीघ्र’ सरकारको नेतृत्वसहित मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ ।

दलको बैठकमा लामो छलफलपछि एमालेसँगको पूर्वसहमतिअनुसार सरकारको नेतृत्व अब कांग्रेसले गर्ने समय भएकाले कांग्रेस र एमाले दुवै दलको केन्द्रीय नेतृत्वसँग परामर्श गरेर सरकार पुनर्गठन निर्णयमा कांग्रेस पुगेको हो । यसअघि कांग्रेस र एमाले दुवै दलका प्रदेश स्तरका नेताहरूले सके सरकारको नेतृत्वसहित नभए मन्त्री मात्र भए पनि फेरबदल गर्ने प्रयास गरेका थिए । तर, त्यसमा सरकारमा रहेका एमाले र कांगेसका मन्त्रीहरूले बजेटअघि सरकार फेरबदल गर्न नहुने अडान राख्दै आएपछि तत्कालका लागि सरकारको नेतृत्व नै फेरबदल गर्ने संकट टरेको हो । तर, ‘यथाशीघ्र’ भन्ने शब्द निर्णयको माइन्युटमै लेखिएकाले कुनै पनि बेला दुवै दलले सहमति गरेर सरकार फेरबदल गर्न सक्ने कांग्रेसका एक मन्त्रीले बताए । ‘त्यो जिम्मेवार दलको नेतालाई दिइएको छ,’ ती मन्त्रीले भने, ‘बजेटअघि सरकारको नेतृत्व फेर्ने भन्ने विषय असम्भवजस्तै हो ।’

कांग्रेसमा संसदीय दलका नेता पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी छन् । कांग्रेस संसदीय दलमा पनि उनकै नेतृत्वमा सरकारमा जाने ‘लगभग’ सहमति जुटेको छ । तर, कांग्रेसमा चौधरीसहित दाङका राजु खनाल, प्रचण्डविक्रम न्यौपाने, पाल्पाका वीरबहादुर राना, बर्दियाका जन्मजय तिमिल्सिना, प्यूठानका सरोज थापा (रोज), प्यूठानकै निमा गिरी पनि मुख्यमन्त्रीका आकांक्षी छन् । न्यौपाने, तिमिल्सिना र थापा अहिले पनि मन्त्री छन् । आकांक्षीमध्ये खनाल, न्यौपाने, राना र गिरी कांग्रेसका संस्थापन निकट मानिन्छन् । चौधरी, तिमिल्सिना र थापा भने पहिला देउवा निकट मानिन्थे । लुम्बिनीमा १८ महिना एमालेले र त्यसपछिको १६ महिना कांग्रेसले नेतृत्व गर्ने सहमति अनुसार २०८१ साउन ७ गते एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित् समाचार