गृहपृष्ठ Featured सरकारको सय दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय

सरकारको सय दिनको समीक्षा गर्ने कांग्रेसको निर्णय

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारको एक सय दिनको कार्यसम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको सय दिनमा गरेका प्रतिवद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

संसदीय दल र पार्टीबीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो । संघीय सांसदहरूलाई राष्ट्रिय महत्वका विषय र जनजीविकाका सरोकारलाई संसदमा सशक्त ढङ्गले प्रस्तुत गर्न सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलको भुमिका कमजोर भएको टिप्पणीको खण्डन गर्दै महामन्त्री पौडेलले कांग्रेसले सरकारका कमीकमजोरीमाथि निरन्तर खबरदारी गरिरहेको दाबी गर्नुभयो । सरकारले प्रतिपक्षको आवाज नसुने त्यसको मूल्याङ्कन नागरिकले गर्ने उहाँको भनाइ छ ।

यस्तै नेता अभिषेकप्रताप साहले सरकारको शुरूआती सय दिन अर्थात् ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो । उहाँले अहिलेको सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो ।

नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको दाबी गर्दै नेपाली कांग्रेसले सरकारका कामकारबाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो ।

सम्बन्धित् समाचार