रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ मा सार्वजनिक सुनुवाइ तथा वडा भेला कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार वडाको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष ईनामुल्लाह फकिर ले चालु आर्थिक वर्षमा वडाबाट सम्पन्न भएका विकास निर्माणका कार्य, सेवा प्रवाह तथा आगामी योजनाबारे जानकारी गराएका थिए।
त्यसैगरी वडा सचिव विष्णु पराजुली ले वडामा भएका व्यक्तिगत घटना दर्ता तथा पञ्जीकरणसम्बन्धी विवरण प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले वडाले गरेका कामप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै वडा अध्यक्षको प्रशंसा गरेका थिए। सहभागीहरूले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा वडाले प्रभावकारी रूपमा काम गरेको उल्लेख गरेका थिए।

सो अवसरमा वडा अध्यक्ष फकिरले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर वडाको समग्र विकासका लागि निरन्तर काम भइरहेको बताए। उनले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सार्वजनिक सुनुवाइ तथा वडा भेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।








