गृहपृष्ठ Featured भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजार बढी बेपत्ता

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी)ले जनाएको छ।

भूकम्पमा परी ५१ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको पनि एपीले जनाएको छ।

भूकम्पमा ठुल्ठूला भवनहरू भग्नावशेषमा परिणत भएको छ।

सरकारी उद्धार टोलीको अभाव हुँदा नागरिकहरू आफै भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्।

उद्धार कार्यमा ढिलाइ हुँदा अझै भग्नावशेषमा जीवित फसेका मानिसहरूलाई बचाउने सम्भावना घट्दै गएको स्थानीयलाई उद्धृत गरेर एपीले लेखेको छ।

शुक्रबार राति सरकारले सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा प्रवेशमा कडाइ गरेको छ। उद्धार कार्यमा भीडभाड र ट्राफिकले अवरोध पुर्‍याउन थालेपछि सरकारी अनुमति बिना उक्त क्षेत्रमा प्रवेश गर्न नपाइने घोषणा गरिएको छ।

ला गुआइरामा आफ्ना परिवारका सदस्यहरूको खोजी गरिरहेकी नाजारेथ जिमेनेजले सरकार र अन्तर्राष्ट्रिय समुदायसँग भारी उपकरण उपलब्ध गराइदिन आग्रह गरेकी छन्।

‘हामी सरकार र विश्वका सबै देशसँग सहयोगको अपिल गर्छौं। भत्किएका संरचना हटाउन सक्ने मेसिन चाहिएको छ। त्यहाँ अझै मानिसहरू जीवित छन्,’ उनले भनिन्।

 

सरकारले प्रभावित क्षेत्रमा खाना, पानी र अन्य राहत सामग्री वितरण भइरहेको जनाएको छ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले जीवित उद्धारलाई प्राथमिकता दिइएको बताउँदै विश्वभरबाट उद्धार टोली र मानवीय सहायता आइरहेको जानकारी दिइन्।

उनले ला गुआइरामा सुरक्षा बल परिचालन गरिएको र थप सहायता बाटोमै रहेको पनि बताइन्। तर स्थानीय बासिन्दाले उपलब्ध सहयोग आवश्यकताको तुलनामा निकै कम रहेको बताएका छन्।

भूकम्पपछि घाइते हुनेको संख्या ३ हजार ३०० नाघेको छ भने हालसम्म २४३ जनाको जीवित उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्।

यद्यपि बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

स्वतन्त्र डिजिटल डाटाबेसमा हजारौं मानिस हराएको विवरण दर्ता भइरहेका छन्। मोबाइल सेवा अवरुद्ध भएका कारण सम्पर्कविहीन व्यक्तिहरू पनि बेपत्ताको सूचीमा परेको हुन सक्ने अधिकारीहरूले बताएका छन्।

एउटै व्यक्तिको खोजीमा धेरै आफन्तले विवरण दर्ता गर्दा दोहोरो तथ्यांक पनि समावेश भएको हुन सक्ने जनाइएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार भूकम्पबाट भेनेजुएलाका करिब ६७ लाख ६० हजार मानिस प्रभावित हुन सक्ने अनुमान छ। जसमध्ये झन्डै २० लाख राजधानी काराकासका बासिन्दा छन्। लगातार दुईवटा सतह नजिक केन्द्रविन्दु भएका शक्तिशाली भूकम्पका कारण क्षति झन् भयावह बनेको विज्ञहरूको भनाइ छ।

रेडक्रसकी अमेरिकाज क्षेत्रीय निर्देशक लोइस पेसले धेरै मानिसहरू आफ्नै घरभित्र फर्किन अझै पनि अत्यन्त डराइरहेको बताएकी छन्।

धेरै परिवार अझै आफन्तको खोजीमा छन्। कतिपय सडकमै रात बिताइरहेका छन् भने कतिपयले आफ्ना प्रियजन गुमाएको शोक मनाइरहेका छन्।

ओमार रेयेसले आफ्ना दुई सन्तान पुरिएको भग्नावशेषतर्फ हेर्दै भने, ‘अब यो जीवनमा म एक्लै भएँ।’ उनका अनुसार यस विपत्तिमा उनको परिवारका करिब २० सदस्यको मृत्यु भएको छ।

मुख्य विमानस्थल नजिकको काटिया ला मार क्षेत्रमा केही समूहले खाद्यान्न र दैनिक उपभोग्य सामग्री लुटपाट हुन थालेका छन्। राहत वितरण गर्ने सवारीसाधन वरिपरि पनि ठूलो भीड लागेको थियो, जसलाई सैनिकले नियन्त्रण गरेका थिए। कतिपय मानिसले औषधि पसलको पार्किङ क्षेत्रमा पाल, झुल र त्रिपाल टाँगेर अस्थायी बास बनाएका छन्।

यसैबीच अन्तर्राष्ट्रिय सहयोग पनि तीव्र रूपमा भित्रिन थालेको छ। भेनेजुएला सरकारले मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्यान्ड, कोलम्बियालगायत विभिन्न देशबाट आएका ८६१ अन्तर्राष्ट्रिय स्वयंसेवक उद्धारमा खटिएको जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वका विभिन्न मुलुकबाट २५ वटा खोज तथा उद्धार टोलीका करिब १ हजार उद्धारकर्मी भेनेजुएलातर्फ प्रस्थान गरिरहेका छन्।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोसँग शुक्रबार टेलिफोन वार्ता भएको जानकारी दिँदै अमेरिका उद्धार टोली र आवश्यक उपकरण पठाउन प्रतिबद्ध रहेको बताइन्।

सम्बन्धित् समाचार