गृहपृष्ठ Featured युरोपमा गर्मीका कारण एक हप्तामा १३ सय भन्दा बढीले ज्यान गुमाए

युरोपमा गर्मीका कारण एक हप्तामा १३ सय भन्दा बढीले ज्यान गुमाए

एजेन्सी

युरोपका विभिन्न देशहरुमा अत्यधिक गर्मी (हीटवेभ) का कारण एक हप्ताको अवधिमा १,३०० भन्दा बढीको ज्यान गएकोे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । युरोपभर तापक्रमले नयाँ–नयाँ कीर्तिमान कायम गरिरहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो, त्यहाँ तापक्रम विश्वको औसतभन्दा झण्डै दोब्बरका दरले बढिरहेको छ । बीबीसीका अनुसार हिजो मात्रै जर्मनीमा कोस्चेनमा ४१.७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन त्यहाँको नयाँ कीर्तिमान हो ।

यसैगरी पोल्याण्डले पनि ४०.५ डिग्री सेल्सियस अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ भने चेक गणतन्त्रमा ४१.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको बुधवार यता मात्रै झण्डै १ हजारको ज्यान गएको छ । तीमध्ये धेरै ६५ वर्षभन्दा माथिका नागरिक रहेका छन् ।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार गर्मीबाट राहत खोज्ने क्रममा नदी, ताल र पोखरीजस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर कम्तीमा ७४ जनाको ज्यान गएको छ । चरम गर्मीका कारण विभिन्न युरोपेली देशहरूले विशेष सावधानी अपनाएका छन् ।

विशेषज्ञहरूका अनुसार यसपटकको गर्मीको मुख्य कारण ‘हीट डोम’ नामक मौसमी प्रणाली हो । यस प्रणालीमा माथिबाट तल झर्ने तातो हावाले जमिन नजिक थप ताप सिर्जना गर्छ, बादल बन्न दिँदैन र घामको ताप अझ तीव्र बनाउँछ । डब्लुएचओले जलवायु परिवर्तनका कारण पहिले एक पुस्तामा एकपटक देखिने यस्ता चरम गर्मीका घटना अहिले लगभग हरेक वर्ष दोहोरिन थालेको चेतावनी दिएको छ ।

सम्बन्धित् समाचार