गृहपृष्ठ Featured रास्वपाकै सांसद अमरेश सिंहले भने- यो सरकारले पनि जनतामा आशा जगाउन सकेन

रास्वपाकै सांसद अमरेश सिंहले भने- यो सरकारले पनि जनतामा आशा जगाउन सकेन

सत्तारुढ रास्वपाका सांसद अमरेश सिंहले यो सरकारले पनि जनतामा आशा जगाउन नसकेको बताएका छन्।

मंगलबार संसद् बैठकमा आफ्ना धारणा राख्दै उनले व्यवसायी, युवा, विद्यार्थी कोही पनि अहिले सन्तुष्ट नरहेको दाबी गरे।

‘म भारी र दुःखी मन लिएर आजको संसद् बैठकमा उपस्थित भएको छु,’ बैठकमा आफ्ना धारणा राख्दै सिंहले आत्मदाह गरेका आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सर्लाहीका युवा विवेक मण्डलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरे।

उनले यो हप्तामै तीन युवाले आत्मदाह गरेको भन्दै दुःख व्यक्त गरे।

‘हामी राज्य सञ्चालन गर्दैछौँ। तर, जनतामा चरम निराशा छ,’ उनले भने, ‘यो देशमा बाँच्न सकिन्न, केही गर्न सकिन्न भन्ने भाष्य निर्माण हुँदैछ। हामी संसद्बाट त्यो खालको भाष्य निर्माण नगरौँ। म सबैलाई आग्रह गर्छु, राज्य र जनता रहे मात्रै हामी राजनीति गरौँला। आज सत्तामा हुने भोलि नरहौँला। जनता र लोकतन्त्र रहे मात्रै हामी राजनीति गरौँला। हामी सबैले जनता र लोकतन्त्रको रक्षा गरौँ।’

उनले व्यवसायी, युवा, विद्यार्थी र आम नागरिकलाई यो सरकारले पनि आशा जागृत गर्न नसकेको बताए।

‘म सभामुखलाई आग्रह गर्छु, राष्ट्रिय मुद्दा तय गरौँ। सबै दल मिलेमात्र संकटबाट बाहिर निस्कन सकिन्छ,’ उनले भने।

सम्बन्धित् समाचार