फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ।
अमेरिकाको मियामी स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन्।
पहिलो हाफमा ४-० ले पछि परेको फ्रान्सले दोस्रो हाफमा ४ गोल गर्यो। उता इंग्ल्यान्डले दोस्रो हाफमा थप २ गोल गरेर जारी विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको छ।
इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरेका छन्।
खेलको पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
खेलको तेस्रो मिनेटमै राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए।
खेलको १८औँ मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए।
शाकाले ३७औँ मिनेटमा इंग्ल्यान्डको लागि तेस्रो गोल गरे। पहिलो हाफको इन्जुरी समयमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए।
दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्काएको थियो। ४८औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे।
फ्रान्सका ब्राडली बारकोलाले ५४औँ मिनेटमा र कप्तान एमबाप्पेले ६६औँ मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा ल्याए।
खेलको ८७औँ मिनेटमा इंग्ल्यान्डका शाकाले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ५-३ को अवस्थामा ल्याए।
दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ४-५ को अवस्थामा ल्याएका थिए। इन्जुरी समयको अन्तिममा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाएका हुन्।






