जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव छ भने हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तर नेपालको तराईनजिक छ।
जसका कारण यतिबेला (आइतबार बिहान) देशभर साधारणतया बादल लागेको छ भने बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार,
दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। साथै तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको थोरै स्थान मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।








