गृहपृष्ठ अन्तरास्ट्रिय खबर उरुग्वेको प्रशिक्षकमा फोर्लान

उरुग्वेको प्रशिक्षकमा फोर्लान

मोन्टेभिडियो — आफ्ना पूर्व स्ट्राइकर डिएगो फोर्लानलाई उरुग्वेले राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक बनाएको छ । विश्वकपमा निराशाजनक प्रदर्शनपछि उरुग्वे फुटबल संघ (एयूएफ) ले यस्तो कदम चालेको बिहीबार जनाएको छ ।

फोर्लानले कार्यबाहकको हिसाबमा मात्र यो जिम्मेवारी पाएको जनाइएको छ । उरुग्वे उत्तर अमेरिकामा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक मार्सेलो बिइल्साले पदबाट राजीनामा दिएका थिए । ‘डिएगो फोर्लानले यू–२० र राष्ट्रिय टोली सम्हाल्ने छन्,’ एयूएफले आफ्नो संक्षिप्त विज्ञप्तिमा भनेको छ ।

सन् २०१० को विश्वकपका गोल्डेन बल विजेता फोर्लानसँग हप्तौंदेखिको छलफलपछि सहमतिमा पुगेको हो । एयूएफ स्रोतबाट प्राप्त जानकारीअनुसार ४७ वर्षे फोर्लान कार्यबाहकको रूपमा मात्र रहनेछन् र पछि सम्झौता लामो समयका लागि थप्नेछन् । सेप्टेम्बर, अक्टोबर र मार्चमा हुने मैत्रीपूर्ण खेलमा फोर्लान उरुग्वेको प्रशिक्षक भएर मैदान उत्रनेछन् ।

दुई पटकको विश्व च्याम्पियन उरुग्वे लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । यस विश्वकपमा साउदी अरेबिया र केप भार्डेसँग पहिलो दुई खेलमा बराबरीमा रोकिएको उरुग्वे समूह चरणको अन्तिम खेलमा विजेता बनेको स्पेनसँग पराजित भएको थियो । ७१ वर्षे बिइल्सलाई उनको गलत रणनीतिका कारण कडा आलोचना गरिएको थियो । साथै उनले विश्वकपमा ४० वर्षे गोलरक्षक फर्नान्डो मुसलेरामाथि धेरै विश्वास देखाएका थिए । उनै भेट्रान गोलरक्षकले गल्तीहरू गरिरहे ।

सम्बन्धित् समाचार