गृहपृष्ठ खबर विश्वका महासागरहरूमा जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन

विश्वका महासागरहरूमा जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन

विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कीर्तिमानी उच्च तापक्रम मापन भएको छ । प्रशान्त महासागरमा विकसित भइरहेको ‘एल निनो’ को अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर—अर्थात् उत्तर र दक्षिणमा ६० डिग्री अक्षांशको बीचमा—गएको महिना औसत समुद्री सतहको तापक्रम २०.९६ डिग्री सेल्सियस रहेको थियो । यसले सन् २०२३ मा कायम भएको २०.८९ डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको हो ।

कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख राखिएयताको संयुक्तरूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ । जुलाई महिनाको तापक्रम पूर्व–औद्योगिक औसत अनुमानभन्दा १.४७ डिग्री सेल्सियस धेरै थियो ।

यसैबीच पश्चिमी युरोपले अहिलेसम्मकै सबैभन्दा तातो जुन र जुलाई महिनाको अनुभव गरेको छ । लामो समयसम्म कायम रहेको गर्मी र सुक्खा मौसमले यस क्षेत्रभरि भीषण डढेलोको घटनालाई अझ बढाएको छ ।

पश्चिमी युरोपमा जुन र जुलाई महिनाको औसत तापक्रम २१.६२ डिग्री सेल्सियस रहेको छ । यो औसतभन्दा २.७९ डिग्री सेल्सियस बढी र यस दुई महिनाको अवधिमा सबैभन्दा उच्च हो ।

सम्बन्धित् समाचार