गृहपृष्ठ Featured कारागारमा रहेका व्यक्तिलाई राज्यले बर्सेनि १ लाख ३५ हजार खर्च गर्छ- मन्त्री गौतम

कारागारमा रहेका व्यक्तिलाई राज्यले बर्सेनि १ लाख ३५ हजार खर्च गर्छ- मन्त्री गौतम

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले कारागारमा रहेका प्रत्येक व्यक्तिका लागि राज्यले प्रति वर्ष १ लाख ३५ हजार खर्च गरिरहेको बताएकी छिन्।

प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिमा मन्त्री गौतमले हाल जेलमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका २६ हजार बन्दी रहेको बताइन्।

‘प्रतिकैदी प्रतिवर्ष अनुमानित रकम चाहिँ १ लाख ३५ हजार खर्च हुँदो रहेछ। एउटा कैदीबन्दी पाल्नको लागि मात्रै यति खर्च हुँदो रहेछ’, गौतमले भनिन्, ‘वर्षमा ३ अर्ब ५१ करोड ३९ लाख १५ हजार रुपैयाँ चाहिँ खर्च हुँदो रहेछ। अनि प्रायजसो कैदीबन्दी एकदम निष्क्रिय जीवन बिताइराख्नुभएको छ।’

मन्त्री गौतमले नेपालले जनसांख्यिक लाभ लिनुपर्ने बेला युवाहरू कारागारमा हुने विषयमा पनि ध्यान दिनुपर्ने बताइन्।

‘यति धेरै २६ हजार मानिसहरू चाहिँ १८ देखि ५९ वर्षका चाहिँ जेलमा हुने, कारागारमा हुने भन्ने विषय पक्कै पनि एउटा राज्यको लागि राम्रो सूचना होइन र हामी सही ठाउँमा जानुपर्ने छ भन्ने कुराको संकेत पनि यसले गर्दछ भन्ने मलाई लाग्छ’, मन्त्री गौतमले भनिन्।

मन्त्री गौतमले कारागार ऐन संशोधन गरेर समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औंल्याइन्।

सम्बन्धित् समाचार